काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ। दिउँसो २:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियानको औपचारिक उद्घाटन गरिने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

ज्वालाका अनुसार उद्घाटन कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगावै वडा र पालिका अधिवेशनहरूसमेत सम्पन्न गर्ने निर्णय गरिएको छ।
“राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा यो राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो,” पार्टीको निर्णय उद्धृत गर्दै भनिएको छ।
यस्ता छन् मुख्य कार्यक्रमहरू:
सङ्गठन समायोजन र विस्तार: पार्टीका विभिन्न समितिहरू, जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको बाँकी समायोजन कार्य सम्पन्न गर्ने र सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाउने।
बैठक तथा प्रशिक्षण: पार्टीका नियमित बैठक, भेला तथा राजनीतिक-सङ्गठनात्मक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।
जनसम्बन्ध र सांस्कृतिक कार्यक्रम: जनता र पार्टीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन जनताकेन्द्रित गतिविधि तथा विविध सांस्कृतिक एवम् रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने।
जनजीविकाका मुद्दा: जनताका माग तथा दैनिक जनजीविकाका सवालहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेस गर्ने र तिनको कार्यान्वयनका लागि पहल गर्ने।
श्रम तथा समाजसेवा: श्रम तथा जनसेवाका कार्यक्रमहरू सञ्चालन गर्ने र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्याउने।
जनचेतना र ध्यानाकर्षण: राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
ज्ञापनपत्र पेस: महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षाजस्ता समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र एवम् ज्ञापनपत्र बुझाउने।















