काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विश्वको भूराजनीतिमा आएको परिवर्तनको असर नेपालमा अझै बढी परिरहेको बताएका छन् ।

पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौँ ।’
आफ्नो पार्टीले देशमा भएका विगतका परिवर्तनमा होमिएको भएकाले झनै बढी गम्भीर र संवेदनशील भएर लाग्नुपर्ने उनले बताए।
‘हाम्रो पार्टी जसले विगतमा यो देशमा सबै जनताको सार्वभौमिकताका निम्ति, सबै उत्पीडित वर्ग समुदायको हक अधिकारको निम्ति त्याग, तपस्या र बलिदानको प्रक्रियाबाट युगान्तकारी उपलब्धि हासिल गर्न सम्भव भएको पृष्ठभूमिको पार्टी हौँ हामी,’ प्रचण्डले भने, ‘त्यो नाताले अहिले विश्वमा देखिएको नयाँ भूराजनीतिक चलखेल–भूमरी र त्यसको असरबाट नेपालको राजनीतिमा पनि देखा परेको असाधारण परिस्थितिप्रति सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार छौँ भन्ने हामीले महसुस गरेका छौँ ।’















