Logo
Logo

एनपीएलः सुदूरपश्चिम ८७ रनमै अलआउट


189
Shares

काठमाडौं । ब्याटिङ कमजोर बन्दा साविक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा ८७ रनमै अलआउट भएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । अनिल खरेलले १५ रन बनाए । ओपनर सैफ जैबले १३ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले नौ रन जोडे । इशान पाण्डेले सात, अभिनाश बोहराले तीन, ब्रान्डन म्याकमुलेनले दुई, शेरफन रथरफोर्डले एक रन बनाउँदा आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन ‘डक’ आउट भए हुन् ।

लुम्बिनीका लागि किशोर महतोले चार विकेट लिए । चार ओभर बलिङ गर्दा किशोरले २२ रन खर्चिए ।

शेर मल्लले तीन विकेट लिए । शेरले चार ओभर बलिङ गर्दा ११ रन खर्चिए । तिलक भण्डारी, कप्तान रोहितकुमार पौडेल र शाड्ली भान शाल्विकले समान एक विकेट लिए ।

लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । गत सिजन टोलीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसैले टोली यस सिजन उपाधि रक्षा गर्ने लक्ष्यमा छ । तर, टोलीले दुई संस्करण खेलिसक्दा पनि समूह चरणमा सुदूरपश्चिमलाई हराउन सकेको छैन ।

यता, सुदूरपश्चिम भने दुवै संस्करणको उपविजेता हो । गत सिजनसँगै टोलीले पहिलो सिजनमा फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार व्यहोरेको थियो । त्यसैले यस संस्करण उक्त पीडा भुलाउँदै उपाधि जित्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्