काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्ससामू कर्णाली याक्सले जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पारेको हो।
आक्रामक सुरुआत गरेको कर्णालीले पावर प्ले मा नै ३ विकेट गुमाएको थियो। त्यसपछि केही दबाबमा परेको कर्णालीका लागि अरिफुल इस्लाम र पवन सर्राफले इनिङ्स सम्हालेका थिए।
अरिफुल इस्लामले बनाएको ४३ रन नै टोलीका सर्वाधिक रह्यो। उनले २९ बलमा ४ चौका सहयोगमा ४३ रन बनाए। ३७ बलमा ३ छक्का सहयोगमा ३७ रन नै बनाएका पवन सर्राफ ललित राजवंशीको बलमा जिम्मी निशमको हातबाट क्याच आउट भए।
दिपक डुम्रेले १३ र गुल्सन झाले १२ रन थपे। ५ बलमा १ रन बनाएका कप्तान सोमपाल कामी जनकपुरका कप्तान हरमित सिंहको बलमा एलबीडब्लु धरापमा परे। हुसैन तलात ३, मार्क वाट र अकबर अली समान १ रनमा आउट भए। नन्दन यादवले ९ रन बनाए ।
कर्णालीलाई कम स्कोरमा रोक्न कप्तान हरमितले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै २२ रन दिए। मोइन अली र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो।
जनकपुरले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ।















