Logo
Logo

कस्तो रहला आजको मौसम ?


378
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव रहने छ । हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ । साथै बागमती र गण्डकीका हिमाली भू–भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

भोलि बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भू–भागका केही स्थान र बाँकी हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशी, मधेस, बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात तथा लुम्बिनीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको समेत सम्भावना छ ।

यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले कात्तिक १२ गतेदेखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबारअघि नै सक्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकलाई नजान वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

यस अवधिमा चिसो बढ्न सक्ने, पहिरो जान सक्ने तथा सडक एवं हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्