Logo
Logo

एउटा मिमका कारण एम्बाप्पेलाई करोडौँको झट्का !


315
Shares

बुढापाकाले भन्थे- “बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु, बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु ।” अहिले विश्व फुटबलका सुपरस्टार किलियान एम्बाप्पेको हकमा यो उखान ठ्याक्कै मिलेको छ । इन्टरनेटको एउटा मिमबारे बोल्दा उनले के भने, त्यसको मूल्य अहिले चुकाइरहेका छन् । मैदानमा गोल गरेर विश्व जितिरहेका एम्बाप्पे एउटा अभिव्यक्तिका कारण चीनमा नराम्रोसँग फसेका छन् । चीनका संस्थापक माओ त्सेतुङलाई तानाशाह भनेपछि उनको खेल प्रसारण रोकियो । सामाजिक सञ्जाल प्रतिबन्धमा परे । करोडौँका विज्ञापन खोसिए । अन्ततः उनी माफी माग्न बाध्य भए । तर प्रश्न बाँकी नै छ-के एउटा माफीले उनको गुमेको साख फर्काउन सक्ला ? आज हामी यसै विषयमा चर्चा गर्नेछौँ ।

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च स्टार किलियन एम्बाप्पे अहिले एउटा मिमका कारण गम्भीर विवादमा फसेका छन् । एम्बाप्पेले यो विवादित टिप्पणी कुनै राजनीतिक भाषणमा गरेका थिएनन्, न त उनी चीनको राजनीतिबारे बहस गरिरहेका थिए । उनी त केवल इन्टरनेटमा चर्चित एउटा मिमबारे कुरा गरिरहेका थिए । फ्रेन्च अनलाइन टक शो ‘द ब्रिज’ मा सहभागी हुनुअघि रेकर्ड गरिएको भिडियोमा उनलाई आफूलाई सबैभन्दा धेरै हँसाएको मिमबारे सोधिएको थियो । त्यसपछि उनले आफ्नो अनुहार जोडिएको एउटा तस्बिरको चर्चा गरे, जसमा उनको अनुहार चीनका पूर्वनेता माओ त्सेतुङको तस्बिरमा जोडिएको देखिन्छ ।

एम्बाप्पेले उक्त तस्बिरका व्यक्तिलाई ‘चिनियाँ तानाशाह’ भनेको अर्थ लाग्ने गरी अभिव्यक्ति दिए । यही अभिव्यक्ति नै विवादको मुख्य कारण बन्यो । भिडियो सार्वजनिक भएलगत्तै चिनियाँ सामाजिक सञ्जालमा उनको व्यापक आलोचना हुन थाल्यो । सामाजिक सञ्जालमा मात्रै होइन, मिडिया पनि उतिकै बहसको विषय बन्यो । केही सामाजिक सञ्जलाल प्रयोगकर्ताले उनलाई बहिष्कारको अभियान समेत चलाए । चीनमा यसलाई सामान्य ठट्टाका रूपमा मात्रै लिइएन, बल्कि यसलाई राष्ट्रिय इतिहास र संस्थापक नेताको अपमानका रूपमा व्याख्या गरियो ।

एउटा मिमका कारण चीनमा किन यति ठूलो हंगामा फैलियो त ? यो बुझ्नका लागि माओ त्सेतुङको ऐतिहासिक पृष्ठभूमि बुझ्न जरुरी छ । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेका माओ त्सेतुङ चिनियाँ इतिहासका अत्यन्त प्रभावशाली नेतामध्ये एक हुन् । सन् १९७६ मा उनको निधन भएको भए पनि उनको राजनीतिक विरासत अहिले पनि चीनको राष्ट्रिय पहिचान र कम्युनिस्ट शासन व्यवस्थासँग गहिरो रूपमा जोडिएको छ ।

माओको शासनकाल भने पूर्ण रूपमा विवादरहित छैन । उनका नीतिहरूका कारण ठूलो मानवीय क्षति भएको इतिहास छ । विशेषगरी ‘ग्रेट लिप फर्वार्ड’ अभियान र त्यससँग जोडिएको गम्भीर भोकमरीका कारण करोडौँ मानिसले ज्यान गुमाएको इतिहासकारहरूले उल्लेख गरेका छन् ।

यद्यपि, चीनको आधिकारिक राजनीतिक दृष्टिकोणमा माओको योगदान र उनका त्रुटिहरूलाई निश्चित वैचारिक सीमाभित्र राखेर मात्र व्याख्या गरिन्छ । त्यसैले, उनलाई सार्वजनिक रूपमा ‘तानाशाह’ भन्नु वा उनको छविमाथि व्यङ्ग्य गर्नु चीनमा अत्यधिक संवेदनशील र निषेधित विषय मानिन्छ । यही कारणले गर्दा एम्बाप्पेको अभिव्यक्तिलाई लिएर चिनियाँ समाजमा तीव्र आक्रोश उत्पन्न भएको देखिन्छ ।

तर प्रश्न यो पनि हो– एउटा देशको इतिहासप्रति सम्मान देखाउनु र त्यहाँका ऐतिहासिक नेतामाथि कुनै आलोचना नै गर्न नपाउनु एउटै कुरा हो ? पक्कै होइन । इतिहासको मूल्यांकन गर्ने अधिकार र अरूको संवेदनशीलताको सम्मान गर्ने जिम्मेवारी दुवै महत्त्वपूर्ण छन् । एम्बाप्पेले पनि मिमबारे बोल्दा त्यसको राजनीतिक अर्थ र सम्भावित असर कति ठूलो हुन सक्छ भन्ने अनुमान गर्न सकेनन् । यही असावधानी अहिले उनका लागि महँगो परेको छ ।

विवादको सबैभन्दा ठूलो झट्का एम्बाप्पेको व्यावसायिक क्षेत्रमा परेको छ । चिनियाँ पेय पदार्थ कम्पनी डोङपेङ, दुग्ध उत्पादक कम्पनी मेङनिउ र चिज निर्माता मिल्कग्राउन्डले उनीसँगको साझेदारी अन्त्य गर्ने घोषणा गरेको छ । उनीहरूले राष्ट्रिय भावना र चिनियाँ जनताको भावनामा चोट पु¥याउने अभिव्यक्तिप्रति असहमति जनाएका छन् ।

अब सोचौँ, कम्पनीहरूले एम्बाप्पेलाई ब्रान्ड एम्बासडर किन बनाएका थिए ? उनको लोकप्रियता प्रयोग गरेर आफ्ना उत्पादन बेच्न । उनको अनुहार देखाएर उपभोक्ताको विश्वास जित्न । तर त्यही अनुहार विवादमा परेपछि कम्पनीहरूले सम्बन्ध तोड्ने निर्णय गरेका छन् । यही हो, लोकप्रियताको अर्को पाटो । चर्चित हुनु मात्रै पर्याप्त हुँदैन । त्यो लोकप्रियताले कम्पनीको प्रतिष्ठामा सकारात्मक प्रभाव पार्नुपर्छ । खेलाडीको छवि बिग्रियो भने विज्ञापनमा लगानी गर्ने कम्पनी पनि जोखिममा पर्छ ।

एम्बाप्पेका लागि यो आर्थिक क्षतिमात्रै होइन । चीनजस्तो ठूलो बजारमा उनको व्यावसायिक छविमाथि प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि अब उनीसँग साझेदारी गर्दा सम्भावित जोखिमबारे सोच्न सक्छन् । तर यसको अर्थ एम्बाप्पेको सम्पूर्ण करिअर नै संकटमा परेको भन्ने होइन । तीन चिनियाँ कम्पनीसँगको सम्झौता अन्त्य हुनु र विश्वभरका सबै व्यावसायिक अवसर गुमाउनु फरक कुरा हो । वास्तविक क्षति कति हुन्छ भन्ने कुरा भविष्यका निर्णयले देखाउनेछ ।

यो विवाद एम्बाप्पेमा मात्र सीमित रहेन, यसले स्पेनिस लिग ‘ला लिगा’ लाई समेत प्रभावित बनाएको छ । चीनको सरकारी प्रसारक सीसीटीभीको मातृसंस्था ‘चाइना मिडिया ग्रुप’ले ला लिगाका खेलहरूको प्रसारण स्थगित गर्नुका साथै एम्बाप्पे संलग्न विज्ञापनहरू समेत हटाएको छ । त्यसलगत्तै, ला लिगाले चिनियाँ प्रशंसकहरूसँग माफी मागेको छ । ला लिगाका अध्यक्ष जाभियर तेबासले एम्बाप्पेको टिप्पणी पूर्ण रूपमा व्यक्तिगत रहेको र त्यसले समग्र लिगको धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेका छन् । उनले चीनसँगको सम्बन्धलाई जोगाउन संवाद जारी राख्ने र सांस्कृतिक संवेदनशीलतासम्बन्धी आवश्यक प्रक्रियाहरू विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यस घटनाले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पार्छ– खेलाडीले बोलेको एउटा मात्र वाक्यको असर उसको व्यक्तिगत जीवनमा मात्र सीमित हुँदैन, वरू ऊ आबद्ध क्लब, खेल प्रतियोगिता, प्रसारण अधिकार, विज्ञापनदाता र व्यावसायिक साझेदारहरूसम्म पुग्न सक्छ । चीनजस्तो विशाल बजारमा ला लिगाका खेलहरू हेर्ने प्रशंसकहरूको संख्या पनि निकै ठूलो छ । त्यसैले, एउटा खेलाडीको विवादले पूरै प्रतियोगिताको व्यावसायिक सम्बन्धमै ठूलो असर पार्ने जोखिम देखाएको छ ।

विवाद चर्किएपछि एम्बाप्पेले सार्वजनिक रूपमा माफी मागेका छन् । आफ्नो टिप्पणी विचारहीन भएको स्वीकार गर्दै उनले चीन र विश्वभरका चिनियाँ समुदायका मानिसहरूको भावनामा चोट पुगेको आफूले महसुस गरेको बताएका छन् । साथै, चिनियाँ जनता र उनीहरूको इतिहासप्रति आफ्नो उच्च सम्मान रहेको पनि उनले स्पष्ट पारेका छन् । तर, माफी माग्दैमा सबै समस्या तत्कालै समाधान भइहाल्ने अवस्था भने छैन । चीनको सरकारी प्रसारकले उनको माफीलाई ध्यान दिएपनि उनको आगामी व्यवहारको समेत मूल्याङ्कन गर्ने जनाएको छ । यसको अर्थ, अब एम्बाप्पेका केवल शब्दहरूभन्दा पनि उनका आगामी कदमहरू कस्ता हुन्छन् भन्ने कुराले विशेष महत्व राख्नेछ ।

उनले गुमाएका प्रायोजकहरू फर्किन्छन् कि फर्किँदैनन् ? चीनमा उनको छवि फेरि सुध्रिन्छ कि सुध्रिँदैन ? र, ला लिगाको प्रसारण कहिले सामान्य हुन्छ ? यी प्रश्नहरूको उत्तर तत्कालै दिन सकिँदैन । तर, एम्बाप्पेको यो घटनाले सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूका लागि एउटा ठूलो पाठ पढाएको छ– चाहे सामाजिक सञ्जालमा ठट्टा गर्दा होस् वा अन्तर्वार्तामा बोल्दा, आफ्ना अभिव्यक्तिको सम्भावित असर गम्भीरतापूर्वक बुझ्न आवश्यक हुन्छ । आजको डिजिटल संसारमा एउटा भिडियो केही घण्टामै विश्वभर पुग्न सक्छ र त्यसपछि त्यसको अर्थ तथा प्रभावमाथि आफ्नो नियन्त्रण रहँदैन ।

यो घटनाको अर्को पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ । चीनमा व्यापार गर्ने अन्तर्राष्ट्रिय खेलाडी र कम्पनीहरूले त्यहाँको राजनीतिक तथा सांस्कृतिक संवेदनशीलता बुझ्नुपर्छ, यो साँचो हो । तर, बजार ठूलो छ भन्दैमा हरेक आलोचना वा व्यङ्ग्यलाई पूर्ण रूपमा निषेध नै गर्नुपर्ने हो त ? व्यापार जोगाउनकै लागि आफ्ना विचार र अभिव्यक्तिहरूमा सम्झौता गरिहाल्नुपर्ने हो ? यो प्रश्न पनि जिवितै छ ।

यसअघि सन् २०१९ मा हङकङका प्रदर्शनकारीको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकी बास्केटबल लिगले पनि चीनमा यस्तै ठूलो विवादको सामना गर्नुपरएको थियो । त्यसबेला चीनमा खेलहरूको प्रसारण रोकिएको थियो भने सम्बन्ध सुधार्न एनबीएले लामो समयसम्म ठूलो कसरत गर्नुपरेको थियो । एम्बाप्पेको यो घटनाले फेरि एकपटक प्रस्ट पारेको छ– खेलकुद अहिले केवल मैदानभित्रको प्रतिस्पर्धा मात्रै रहेन; यो राजनीति, व्यापार, राष्ट्रिय पहिचान र जनभावनासँग गहिरो रूपमा जोडिएको एक विशाल उद्योग बनिसकेको छ ।

अन्ततः एम्बाप्पेको यो लापरबाहीको मूल्य कति महँगो पर्छ भन्ने कुरा समयले नै देखाउनेछ । तर, यस घटनाले एउटा कुरा भने छर्लङ्ग पारेको छ– विश्वचर्चित हुनु भनेको आफूले बोलेको हरेक शब्दको जिम्मेवारी र परिणामबाट मुक्त हुनु होइन। अब एम्बाप्पे चीनमा गुमाएको विश्वास पूर्ण रूपमा फर्काउन सफल होलान् कि नहोलान्? त्यो भने आगामी दिनहरूले नै स्पष्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्