Logo
Logo

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार गएनन्


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् ।
एक महिलासँगको विवादित अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।

साथै, यो विषयमा पार्टीले सांसद सुनारमाथि छानबिन गरिरहेको छ । छानबिन प्रक्रिया नसकिएसम्म सार्वजनिक पद वा औपचारिक तथा सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाइएको छ । यसकारण सांसद सुनार आज बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका हुन् ।

आज निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यविधिका विषयमा छलफल भएको छ ।

१६ असोज २०८३ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

रास्वपा सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिको पहिलो बैठक २१ असोज २०८३ मै बसेको थियो । पहिलो बैठकमा प्रारम्भिक छलफल भएको थियो । दोस्रो बैठकमा कार्यविधिको विषयमा छलफल भएको हो ।

यो उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ । निर्धारित समयभित्र प्राप्त उजुरी र प्रहरी (नेपाल प्रहरी/सशस्त्र प्रहरी बल नेपाल) बाट प्राप्त विवरण अध्ययन गरेर प्रतिवेदन दिने गरी उपसमितिले कार्यविधि बनाएको छ ।

नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो । त्यसक्रममा अनियमितता भएको दाबी गर्दै सांसद सुनारले निरन्तर प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्