Logo
Logo

रास्वपा सांसद भन्छन्- सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु चौलागाईंले सरकार र प्रहरीबीच द्वन्द्व चलिरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा बोल्दै सांसद चौलागाईंले प्रहरीले अपराधिक अनुसन्धानमा संलग्न विवरण सार्वजनिक गर्ने र सत्तारुढ दलका सांसदहरू नै प्रहरी प्रशासनविरुद्ध खनिने कुराले दुवै पक्षबीच द्वन्द्व सिर्जना गरेको बताए ।

‘आईजीपी सापको विषयमा त्यो चिर्कटो कसले बाहिर ल्यायो ? न्यायपालिकाबाट आएको त होइन । सरकारबाट आएको त होइन । त्यो प्रहरी प्रशासन, सरकारको अन्डरमा भएको प्रहरी प्रशासनबाट आएको हो नि,’ उनले थपे, ‘यसले के देखाउँछ भने सरकार र प्रहरीबीचमा कहीँ न कहीँ कन्फ्लिक्ट भइरहेको छ । हिजोको डीआईजी सम्मेलन पनि त्यसकै रुप हो।’

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीवार सातै प्रदेशका डीआईजीलाई पनि हेडक्वाटर बोलाएका थिए । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकका लागि उनले डिआईजीसँग प्रहरी प्रधान कार्यालयमा छलफल गरेका थिए ।

सांसद चौलागाईंले न्यायपालिकाभित्र रहेको बिचौलिया सञ्जालको निष्पक्ष र गहिरो छानबिन गर्नुपर्ने पनि बताए । उनले न्यायपालिकाको शुद्धीकरणका लागि जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशमाथि अनुसन्धान गर्नुपर्ने जोड दिए ।

‘विचौलियाको खेल जिल्ला अदालतमा पनि छ, विशेष अदालतमा पनि छ । अन्य ठाउँको कुरा भएन न्यायाधीकरणहरूमा पनि छ। सबै तिर खोज्दै जाँदा अदालतहरु खाली हुनसक्ने सम्भावना पनि छ,’ उनले भने, ‘न्यायपालिकामा शुद्धीकरण हुन्छ, त्यसको सुरुवात हामीले गरेका छौँ ।’

न्यायपालिकाभित्रका अनियमितता ढाकछोप गर्न पछिल्लो समय मिडिया ट्रायल भइरहेको उनको भनाइ थियो । न्यायपालिकामा देखिएको विचौलिया सञ्जालको विषयमा कठोर निर्णय लिन मंसिर पहिलो साता नै संसद बोलाउनेबारे छलफल भइरहेको उनले बताए ।

सांसद चौलागाईंले न्यायपालिकामा रहेको बिचौलिया नेक्सस प्रकरणमा नेपाल बार एशोसिएशनले छुट्टै समिति गठन गरी छानबिन गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्