काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेर फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१४ का ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरी रहेका छन् । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई शुक्रवार आफ्नै घरबाट पक्राउ गरेको हो ।
ठकुरी लागुऔषध खैरो हेरोइन १ सय ५८ ग्राम ८ सय मिलिग्रामसहित पक्राउ परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएका कैदी हुन् ।
उनका अनुसार अदालतको फैसलापछि उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ठकुरीलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय सिरहामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।















