सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।

गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम ल्याएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा हिमपातका कारण पर्यटक फसेको जानकारी प्राप्त भएको थियो । त्यसपछि उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा आएको समस्याका कारण उद्धारमा ढिलाइ भएको थियो ।।
















