Logo
Logo

चीनले रास्वपाका सांसदलाई किन बोलायो ?


0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सांसदको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने तयारीमा छ । १० दिनसम्म चीनका विभिन्न सहरको अवलोकन गर्ने र विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । रास्वपाको सचिवालय बैठकले समेत आचार्यको नेतृत्वमा केही सदस्यहरु चीन जान अनुमति दिइसकेको छ । चीनले रास्वपाकै सांसदलाई किन निम्ता दियो, भ्रमणको वास्तविक उद्देश्य के हो र यसबाट नेपालले के प्राप्त गर्छ? भन्ने यसबाट उठेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमणको कार्यतालिका, राजनीतिक भेटघाट, छलफलका विषय र भ्रमणबाट हासिल गर्न खोजिएका उपलब्धिबारे स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन । तर भ्रमणमा सहभागी हुन रास्वपाका सांसदहरूबीच तीव्र आकांक्षा देखिएको छ । ३० जनाभन्दा बढी सांसदले भ्रमणमा जान इच्छा देखाएको स्रोतको दावी छ ।

विदेशी राजनीतिक दलले अर्को देशका सांसदलाई निमन्त्रणा दिनु अस्वाभाविक होइन । राजनीतिक सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, विकासका अभ्यासको अध्ययन र द्विपक्षीय समझदारी अभिवृद्धि यस्ता भ्रमणका सम्भावित उद्देश्य हुन सक्छन् ।

तर चीनले नेपालका सबै राजनीतिक दललाई नभई रास्वपाका सांसदलाई मात्रै समेटेर टोली बनाउन खोजेको छ । रास्वपा अहिले सत्तारुढ दल भएकाले उसका सांसदसँगको सम्पर्कलाई सामान्य पार्टीगत सम्बन्धका रूपमा मात्रै हेरेर पुग्दैन । यसले नेपालको राजनीतिक शक्ति र चीनको नेपाल नीतिबीचको सम्बन्धबारे पनि चासो उत्पन्न गर्छ ।

महामन्त्री आचार्यले सांसदहरूको ‘ह्वाट्सएप’ समूहमा चीन भ्रमणमा जान इच्छुक सांसदलाई नाम टिपाउन आग्रह गरेका छन । अहिलेसम्म आचार्यसहित लिमा अधिकारी, समीक्षा बास्तोला, हरि ढकाल र सागर ढकालको नाम निश्चित भएको विवरण छ । भ्रमण टोलीमा अन्ततः को–को पर्नेछन् भन्ने निर्णय हुन बाँकी छ ।

भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष खर्च कसले व्यहोरिरहेको छ भन्ने हो । हवाई टिकट, आवास, यातायात, खानपान र अन्य व्यवस्थापनको खर्च कसले बेहोर्नेछ ? चिनियाँ कम्युनिस्ट पार्टीले सबै खर्च व्यहोर्ने हो वा रास्वपा अथवा अन्य कुनै निकायले पनि खर्चमा योगदान गर्नेछ?भन्ने बारेमा केही बताइएको छैन । विगतलाई हेर्ने हो भ्रमणको सबै खर्च चीनकै तर्फबाट व्यहोर्ने गरिएको थियो ।

यदि, भ्रमणको खर्च विदेशी पक्षले बेहोर्ने हो भने त्यसको प्रकृति र सर्तबारे रास्वपा जत्तिको पारदर्शिता खोज्ने पार्टीले सार्वजनिक गर्नु उपयुक्त हुन्छ । विदेशी आतिथ्य स्वीकार गर्नु आफैँमा गलत होइन । तर सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले विदेशी पक्षबाट प्राप्त गर्ने सुविधा र त्यसबाट उत्पन्न हुन सक्ने स्वार्थको द्वन्द्वबारे पारदर्शिता कायम गरेमा रास्वपाका लागि हितकर हुने देखिन्छ ।

यसअघि २०८१ असोज ५ गते तत्कालीन उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका सात सांसद र सात गैरसांसद गरी १४ सदस्यीय टोली चीन भ्रमणमा गएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीकै निमन्त्रणामा गएको उक्त टोलीले निर्धारित कार्यक्रम पूरा नगरी असोज १० गते भ्रमण छोट्याएर नेपाल फर्किएको थियो ।

त्यसबेला पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्न लागेको भन्दै टोलीलाई फिर्ता बोलाइएको विवरण सार्वजनिक भएको थियो । सोही चिनियाँ राजनीतिक दलको निमन्त्रणामा रास्वपाकै सांसदहरूको अर्को टोली चीन जाने तयारीमा छ । यस्तो अवस्थामा अघिल्लो भ्रमणबाट के उपलब्धि हासिल भयो, त्यसको समीक्षा गरियो कि गरिएन र यसपटकको भ्रमणको लक्ष्य के हो भन्ने विषयलाई बाहिर ल्याउनु आवश्यक देखिएको छ ।

भदौ पहिलो साता रास्वपा सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारी भएको तर त्यो रोकिएको थियो । अहिले भने पार्टीका महामन्त्रीको नेतृत्वमा सांसदहरूको टोली चीन जाने तयारी भइरहेको छ । सभापतिको रोकिएको भ्रमण र अहिले सांसदहरूको सामूहिक भ्रमणको उद्देश्य, समय र राजनीतिक प्राथमिकताबारे पार्टीले स्पष्ट पार्दा अनावश्यक आशंका हटाउन मद्दत पुग्छ कि पुग्दैन भन्ने बारेमा गत शनिवार बसेको रास्वपा सचिवालय बैठकमा सामान्य छलफल भएपनि त्यो विषय बाहिर ल्याइएको छैन ।

रास्वपाले आफूलाई पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षधर राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । यस्तो अवस्थामा विदेशी राजनीतिक दलको निमन्त्रणामा हुने भ्रमणमा पनि उसले त्यही मापदण्ड लागू गर्नुपर्छ भन्ने आवाज जनस्तरबाटै आएको छ । भ्रमणमा जानुअघि टोलीको नाम, कार्यक्रमको उद्देश्य, भेटघाटको प्रकृति र खर्चको स्रोत सार्वजनिक गरेमा रास्वपाले अपनाएको पारदर्शिताको नारा व्यवहारमा लागु भएको देखिन्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000