काठमाडौं । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मङ्गलवार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ दामाचौरस्थित खोली बगरबाट दुई जनालाई पक्राउ गरिएको हो ।
चौरजहारी बेस क्याम्प र गोतामकोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट गत कात्तिक १४ गते बिहान ६ बजे फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा दामाचौरबाट आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको जिप जाँच गर्ने क्रममा उनीहरू भाग्न खोजेका थिए ।
प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । बिक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा र राना पनि जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।
















