काठमाडौं । नोपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (वालेन)सँग शिष्टाचार भेट गर्दै छन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न भारत फर्किनेछन् ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए ।
उनले हिजो नै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग-अलग भेट गरेका थिए ।
आज प्रधानमन्त्री वालेनसँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।
नेपाल–भारत दुवै देशका अधिकारीले मङ्सिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेका छन् । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मङ्गलवार काठमाडौं आएका थिए ।
यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए ।

















