काठमाडौं । अमेरिकाको राजधानी वाशिंगटनस्थित राष्ट्रपति निवास ह्वाइट हाउसनजिकै तीनवटा बन्दुक र ठूलो संख्यामा गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिले आफ्नो दिमागको अन्र्तनिहित आवाजले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आदेश दिएको दाबी गरेका छन् ।

एसोसिएटेड प्रेस (एपी)का अनुसार, बिहीबार राति अमेरिकी सिक्रेट सर्भिसका अधिकारीहरूले शंकास्पद गतिविधि गरिरहेको अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । उनी रोकिराखिएको एउटा कारमा थिए ।
अमेरिकी गृह सुरक्षा विभागका अनुसार पक्राउ पर्ने व्यक्ति रोनी योर्डि«क्स गुआनिपा चिरिनोस हुन् । उनले अधिकारीहरूसँगको सोधपुछमा आफ्नो दिमागमा आएका आवाजहरूले वाशिंगटन पुगेर ट्रम्पको हत्या गर्न भनेको दाबी गरेका थिए ।
अनुसन्धानका क्रममा उनी चढेको कार चोरी भएको पाइएको थियो । कार खानतलासी गर्दा तीनवटा फरक प्रकारका बन्दुक र दर्जनौँ राउन्ड गोली बरामद भएको गृह सुरक्षा विभागले जनाएको छ ।
अमेरिकी गृह सुरक्षा विभागका अनुसार, भेनेजुएलाका नागरिक चिरिनोस सन् २०२४ मार्चमा टेक्सास हुँदै अमेरिका प्रवेश गरेका थिए । उनी अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका थिए । पक्राउपछि उनलाई अमेरिकी मार्शल सर्भिसको हिरासतमा राखिएको छ ।
गृह सुरक्षामन्त्री मार्कवेन मुलिनले सिक्रेट सर्भिसका अधिकारीका कारण तीनवटा हतियार बोकेका व्यक्ति ह्वाइट हाउसनजिकै पक्राउ परेको बताएका छन् । उनले कसैलाई क्षति पुर्याउनुअघि नै नियन्त्रणमा लिन सफल भएको उल्लेख गरेका छन् ।
ट्रम्प र उनका परिवारका सदस्यलाई लक्षित धम्कीका घटनापछि अमेरिकी सुरक्षा निकायले निगरानी र सतर्कता बढाउँदै आएका छन् । ह्वाइट हाउसले यस घटनाबारे छुट्टै टिप्पणी नगरी थप जानकारीका लागि गृह सुरक्षा विभाग र सिक्रेट सर्भिससँग सम्पर्क गर्न भनेको छ । एपी


















