Logo
Logo

 बात मारेर होइन, काम गरेर बहादुर बनौँ : ओली  


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: kp-oli-1.jpg

सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न सबैलाई आग्रह गरेका हुन् । उनले बस्नलायक समाज निर्माणका लागि नागरिकको नैतिक बल, नैतिक भावना र सांस्कृतिक मनोवृत्ति उन्नत हुनुपर्ने बताए । समाजको नैतिक तथा सांस्कृतिक अवस्था सुधार गर्न सके राजनीति र अर्थतन्त्रलाई समेत सकारात्मक दिशामा अघि बढाउन सकिने उनको भनाइ छ । 

ओलीले समाजमा परस्पर घृणा, लोभ, षड्यन्त्र र जालझेलको प्रवृत्ति बढ्न नहुनेमा जोड दिए । अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराएर राक्षसी प्रवृत्तितर्फ लैजाने उनले टिप्पणी गरे । उनले खराब काम गर्ने मानिसलाई पशुसँग तुलना गर्नु पनि पशुमाथि अन्याय हुने बताए । पशुले मानिसले जस्तो अन्याय, षड्यन्त्र र जालझेल नगर्ने भन्दै त्यस्ता राक्षसी प्रवृत्ति मानिसमा हुन नहुने उनको भनाइ छ ।

 
उनले भने, ‘हामी सबैले बस्नयोग्य, सभ्य र समुन्नत समाज निर्माण गर्न आफ्नो नैतिक, सांस्कृतिक र मानवीय चेतना उँचो बनाउन आवश्यक छ । राजनीति र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने आधार पनि यही नैतिक चेतना हो । हामी कुरा गर्ने मात्र होइन, काम गर्ने बन्नुपर्छ । विध्वंसकारी होइन, निर्माणकर्ता बन्नुपर्छ । आपसी घृणा, लोभ, छलकपट र स्वार्थ त्यागेर प्रेम, करुणा, इमानदारी र सहकार्यको भावना विकास गर्नुपर्छ । आजको आवश्यकता भनेको आफ्ना सोच, व्यवहार र आचरणलाई सकारात्मक बनाउँदै हाम्रा संस्कृतिले सिकाएका असल मूल्य र मान्यतालाई आत्मसात गर्नु हो । राम्रा परम्परालाई संरक्षण गर्दै समयअनुसार परिमार्जन गरौँ र नयाँ पुस्ताका लागि अझ सभ्य, समृद्ध र सुन्दर समाज निर्माण गर्न अघि बढौँ ।’

अध्यक्ष ओलीले सबैले आफ्नो मनोवृत्ति, व्यवहार, आचरण र चिन्तनलाई सकारात्मक बनाउनुपर्ने बताए । संस्कृतिले सिकाएका असल मूल्य, मान्यता र व्यवहारलाई अवलम्बन गर्दै समयअनुसार परिमार्जन गरेर आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । समाजलाई विध्वंसतर्फ नभई निर्माणको बाटोमा अघि बढाउन सबै नागरिक जिम्मेवार बन्नुपर्ने उनको आग्रह छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000