काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको बताएका छन् । सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंशको प्रवृत्ति बढेको बताए । उनले संसद् भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे । ओलीले आफू नेतृत्वको सरकारले विभिन्न स्थानमा ठूला सभा हल, रङ्गशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गरे ।

गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण गरिएको उल्लेख गर्दै उनले त्यहाँ हजारौँ मानिस अट्ने व्यवस्था रहेको बताए । भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हलको आवश्यकता रहेको उनको भनाइ छ । सामान्य कार्यक्रम आयोजना गर्नुपर्दा पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था रहेको भन्दै उनले सार्वजनिक सभा हल निर्माणमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै, भूकम्पबाट क्षति पुगेका संरचनालाई अझ बलियो र व्यवस्थित रूपमा पुनर्निर्माण गर्ने प्रयास गरिएको उनले बताए । दशरथ रङ्गशालाको पुनर्निर्माण, पोखरा रङ्गशालालगायत विभिन्न स्थानमा खेल पूर्वाधार निर्माणलाई उनले विकासको उदाहरण भएको बताए । विकास भएका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उनको तर्क छ ।
उनले भने, ‘आज राजनीति र समाजमा देखिएको विकृतिको एउटा कारण हाम्रो सांस्कृतिक र नैतिक चेतनामा आएको ह्रास पनि हो । मानिसको मनमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंस र स्वार्थको भावना बढ्दै गएको देखिन्छ । हामीले सभा हल, रङ्गशाला र अन्य पूर्वाधार निर्माण गरेर देश विकास गर्न सक्छौँ भन्ने उदाहरण प्रस्तुत गरेका थियौँ । भूकम्पले संरचना भत्काउँदा पनि त्यसलाई अझ बलियो र व्यवस्थित बनाउने प्रयास गरेका थियौँ । तर सार्वजनिक सम्पत्ति संरक्षण गर्नुको सट्टा तोडफोड, आगजनी र लुटपाट गर्ने प्रवृत्तिले समाजलाई ठूलो क्षति पु¥याउँछ । भाटभटेनीलगायतका व्यावसायिक प्रतिष्ठानमा भएका लुटपाट र आगजनीका घटनाले सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षाबारे गम्भीर प्रश्न उठाएका छन् । यस्तो व्यवहारले देशको प्रतिष्ठामा समेत असर पार्छ । त्यसैले अब हामीले विनाश होइन, निर्माणस घृणा होइन, करुणा, झुट होइन, सत्य र हिंसा होइन, सहकार्यको संस्कार विकास गर्नुपर्छ । संस्कृतिको संरक्षण भनेको केवल चाडपर्व मनाउनु मात्र होइन, हाम्रो व्यवहारमा नैतिकता, सद्भाव र जिम्मेवारी कायम गर्नु पनि हो ।’
उनले भाटभटेनीका २१ वटा स्टोरमा लुटपाट र आगजनी भएको प्रसङ्ग उल्लेख गर्दै सार्वजनिक तथा निजी सम्पत्ति लुट्ने र जलाउने व्यक्तिहरूले नेपाली समाजकै बद्नाम गराएको टिप्पणी गरे । यस्ता गतिविधिमा संलग्न हुनेहरू नेपाली समाजका लागि कलङ्क भएको उनको भनाइ छ । ओलीले समाजमा निर्माण, संरक्षण, परोपकार र जिम्मेवारीवोधको भावना विकास गर्नुपर्नेमा जोड दिए ।


















