Logo
Logo

सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या


0
Shares

डडेल्धुरा । सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन बाँझै छाड्ने गरेका छन् । पर्याप्त पानी नहुनु, चिसो मौसम र शीतका कारण बालीमा क्षति पुग्ने जोखिमले किसान हिउँदे खेतीप्रति आकर्षित हुन नसकेका हुन् ।

The current image has no alternative text. The file name is: khaderi.jpg

कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा १९ हजार २६८ हेक्टर खेतीयोग्य जमिन रहेकामा १० हजार १९२ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यस्तै, खेती भइरहेको क्षेत्रफलमध्ये छ हजार ८९९ हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन भने तीन हजार २९३ हेक्टरमा मात्रै सुविधा उपलब्ध रहेको केन्द्रका सूचना अधिकारी रामसिंह बोहराले जानकारी दिए । खेती भइरहेको जमिनको करिब ६८ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा नहुँदा हिउँदे बाली लगाउन समस्या भइरहेको उनको भनाइ छ ।

आलिताल गाउँपालिकाका किसान जोगराज भट्ट बर्खायाममा विभिन्न बाली तथा तरकारी खेती गर्ने गरे पनि हिउँदमा भने खेतबारी बाँझै राख्न बाध्य छन् । सिँचाइको व्यवस्था नहुँदा चिसोका कारण लगाएको बाली पनि नष्ट हुने जोखिम रहेकाले हिउँदमा खेती नगर्ने उनले बताए । 

“हिउँदमा सागसब्जी राम्रोसँग सप्रिँदैनन् । शीतले बोटबिरुवा मर्ने समस्या हुन्छ । सिँचाइको सुविधा पनि छैन । लगाएको बालीबाट उत्पादन हुने सुनिश्चितता नहुँदा जमिन बाँझै छाड्ने गरेको छु”, उनले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लाका पहाडी क्षेत्रमा हिउँदे खेती गर्ने चलन कम छ । पर्याप्त सिँचाइ नहुनाका साथै चिसो मौसममा बालीको संरक्षण गर्न कठिन हुने भएकाले किसानले हिउँदे खेतीलाई प्राथमिकता दिन नसकेका उनले बताए । 

हिउँदमा बाँझो रहने जमिनको छुट्टै यकिन तथ्याङ्क नभए पनि जिल्लाका अधिकांश क्षेत्रमा खेतीयोग्य जमिन पूर्ण रूपमा उपयोग हुन नसकेका प्रमुख पनेरुको भनाइ छ । उनका अनुसार हिउँदे खेती विस्तार गर्न सिँचाइ सुविधा बढाउनाका साथै स्थानीय हावापानी र भूगोल सुहाउँदो बाली छनोट गर्न आवश्यक छ । शीत तथा विभिन्न रोगबाट बाली जोगाउने प्रविधिको प्रयोग गर्न सके किसानलाई हिउँदे खेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए ।

खेतीयोग्य जमिनको ठूलो हिस्सा प्रयोगविहीन रहँदा कृषि उत्पादन र किसानको आम्दानी बढाउने सम्भावना उपयोग हुन सकेको छैन । सिँचाइ आयोजना विस्तार, बर्सातको पानी सङ्कलन तथा संरक्षण र मौसम अनुकूल बाली खेतीलाई प्राथमिकता दिन सके हिउँदमा बाँझो रहने जमिनलाई उत्पादनसँग जोड्न सकिने किसान बताउँछन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000