Logo
Logo

परराष्ट्रमन्त्री खनालद्वारा आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारदेखि सुरु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् ।

नेपालको जलवायु महत्त्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर)मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गरे ।

हालैको विनाशकारी भोटेकोसी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति व्यहोर्नुपरिरहेको उल्लेख गरे ।

परराष्ट्रमन्त्री खनालले जलवायु न्याय सुनिश्चित, हानि तथा क्षति कोषमा प्रभावित मुलुकहरूको सहज पहुँच स्थापित तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेकामा जोड दिए । हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका निम्ति समेत विश्वव्यापी सहकार्य अपरिहार्य रहेको उनले बताए ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री नीशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिनिधिले समेत सम्बोधन गरेका थिए । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टर्किए गएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000