Logo
Logo

एनपीएल : जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित, जनकपुरको प्लेअफ सम्भावनामा ठूलो धक्का


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको लो-स्कोरिङ खेलमा बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्स १९.५ ओभरमा ९३ रनमै अलआउट भयो।

यो जितसँगै ६ खेलमा चौथो जित निकालेको सुदूरपश्चिम ८ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदै प्लेअफ सम्भावना बलियो बनाएको छ। समान अंक (८) भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानको काठमान्डु गोर्खाजभन्दा पछाडि छ।

यता, पहिलो संस्करणको च्याम्पियन जनकपुरको भने ६ खेलमा यो चौथो हार हो। ४ अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरको प्लेअफमा पुग्ने सम्भावनामा यस हारले ठूलो धक्का पुगेको छ।

जनकपुरको ब्याटिङ ध्वस्त
साधारण लक्ष्य पछ्याउने क्रममा जनकपुरका तृतराज दासले २१, जिमी निसमले २० र आदित्य महताले १० रन बनाए। त्यस्तै, ११औँ नम्बरमा क्रिजमा आएका बलर राहुल यादवले अविजित ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

ओपनर अनिल शाह (२), हेरी टेक्टर (१), रायन बर्ल (८), विशाल सुशलिङ (२), कप्तान हरमीत सिंह (४), अभिषेक तिवारी (२) र ललित राजवंशी शून्य रनमा आउट भए। जिमी निसम र ललित राजवंशीले नवौँ विकेटका लागि बनाएको २० रन नै इनिङ्सको सर्वाधिक साझेदारी रह्यो।

सुदूरपश्चिमको कसिलो बलिङसामु जनकपुरका ब्याटर टिक्न सकेनन्। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३ विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट हात पारे।

सुदूरपश्चिमको इनिङ्स
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए। थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्काको मद्दतले अविजित २७ रन जोडे भने आरिफ शेखले ११, तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १०–१० रन बनाए।

ओपनर जैब र भण्डारीले पहिलो विकेटका लागि जोडेको २२ रन नै इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बन्यो। त्यसयता सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन असफल भयो।

जनकपुरका कप्तान हरमीत सिंहले ४ ओभरमा १७ रन खर्चंदै सर्वाधिक ४ विकेट लिए। साथै हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १–१ विकेट बाँडे। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका ब्याटर हेरी टेक्टरले ४ ओभरमा मात्र ९ रन खर्चेर किफायती बलिङ गरे।

सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा अब काठमान्डु गोर्खाजको सामना गर्नेछ भने जनकपुरले चितवन राइनोजविरुद्ध खेल्नेछ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000