Logo
Logo

मधेसका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने, प्रदेशसभा बैठक आह्वान


0
Shares

काठमाडौं । मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभामुख रामअशिष यादवले यही कात्तिक २८ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् । सभामुख यादवले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको जानकारी दिए ।

मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गर्न भन्दै प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बुधबार पत्राचार गरेका थिए । विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढनाएका हुन्। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000