Logo
Logo

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव सर्लाही पुर्‍याइयो, आजै सामूहिक अन्त्येष्टि गरिँदै


0
Shares

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ पुर्‍याइएको छ । बिहीबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ सुन्दरपुर लगिएको हो ।

एउटै दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ र सामूहिक अन्त्येष्टिको तयारी थालिएको छ । मृतक सबैको शुक्रबार राति नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार एकै स्थानमा अन्तिम संस्कार गरिनेछ । गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार गाउँको पश्चिमतर्फ रहेको लखन्देही नदी किनारमा उनीहरूको सामूहिक अन्त्येष्टि गरिने भएको हो ।

यसअघि उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएपछि शवहरू हेटौंडा अस्पतालमै राखिएका थिए । पीडित पक्षले प्रतिमृतक परिवार १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी र घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए ।

सरकारद्वारा गठित दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति जुटेपछि आफन्तले शुक्रबार शव बुझेका हुन् । सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्ने भएको छ ।

उक्त दुर्घटनामा सुन्दरपुरका १३ जना र कविलासी नगरपालिका–८ अगर्वाका हायस चालक ३० वर्षीय रवीशङ्करकुमार मण्डल गरी कुल १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका छन् । छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही फर्किने क्रममा बिहीबार बिहान करिब पौने ६ बजे हायस चिसापानीगढीस्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

गाउँका १३ जनाको एकैपटक निधन भएपछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको थियो । साथै, गाउँपालिकाले मृतक परिवारलाई जनही ५० हजार रुपैयाँ र मधेस प्रदेश सरकारले प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000