Logo
Logo

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारभन्दा बढी उडान प्रभावित


0
Shares

एजेन्सी । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि लगाइएको उडान प्रतिबन्ध हटाइएको छ। शुक्रबार दिउँसो ३ बजेर ३६ मिनेटमा देशैभरका एयर ट्राफिक कन्ट्रोल केन्द्र तथा ट्र्याकन प्रणालीमा राडार र सञ्चारसम्बन्धी समस्या देखिएको थियो। यसका कारण विमानको राडारसम्बन्धी तथ्याङ्क प्राप्त गर्न र विमानसँग सम्पर्क कायम गर्न कठिनाई भएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सावधानीस्वरूप देशभर विमानहरू जमिनमै रोक्ने (ग्राउन्ड स्टप) निर्णय गरेका थिए।

उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए भने त्यतिबेला आकाशमा उडिरहेका ३ हजार ५०० भन्दा बढी विमानहरूले हवाई ट्राफिक नियन्त्रणका निर्देशन पालना गर्दै सुरक्षित अवतरण गरेका थिए। अमेरिकी यातायात सचिव शन डफीले प्राविधिक समस्याको पहिचान गरिसकिएको र देशको हवाई क्षेत्र पुनः खुला गरिएको जानकारी दिएका छन्। यद्यपि, उडान सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन नसक्ने र क्रमशः सञ्चालनमा ल्याइने उनले बताएका छन्।

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले यो घटना कुनै पनि किसिमको साइबर आक्रमण नभएको स्पष्ट पार्दै यसलाई माइक्रोसफ्टको सिस्टममा आएको अवरोध वा कृत्रिम बुद्धिमत्ता (एआई) सँग पनि कुनै सम्बन्ध नरहेको बताएका छन्। यातायात सचिव डफीका अनुसार अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको हार्डवेयर पुरानो भएका कारण यो खराबी आएको हो। उनले नयाँ हवाई ट्राफिक नियन्त्रण प्रणाली निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि अमेरिकी संसद्सँग माग गर्दै आएको पनि जानकारी दिए।

सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा उडान सेवा पूर्ण रूपमा रोकिएको यो दोस्रो घटना हो। यसअघि सन् २०२३ को जनवरीमा पनि एफएएको मुख्य कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण अमेरिकाभरका उडानहरू प्रभावित भएका थिए।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000