काठमाडौं । अमेरिकाको न्यु अर्लिन्समा १२९ जना यात्रु सवार क्रूज जहाज ट्यांकरसँग ठोक्किँदा आंशिक रूपमा डुबेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

न्यु अर्लिन्स पोर्टका अनुसार शुक्रबार स्थानीय समयअनुसार दिउँसो १२ः३० बजे मिसिसिपी नदीमा ‘एट्लान्टिक डामर’ नामक ट्यांकर ‘अमेरिकन हेरिटेज’ क्रूज जहाजसँग ठोक्किएको थियो ।
दुर्घटनाभन्दा करिब दुई घण्टाअघि नै यात्रु ओराल्न क्रूज जहाज किनारमा रोकिएको थियो । न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोका अनुसार ३२ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनले ट्यांकर नियन्त्रणबाहिर गएर क्रूज जहाजसँग ठोक्किएको बताइन् ।
‘द एसोसिएटेड प्रेस’का अनुसार दुर्घटनाको भिडियोमा ट्यांकर जहाजसँग ठोक्किएपछि धातु र सिसा फुटेको ठूलो आवाज सुनिएको छ ।
लाइफ ज्याकेट लगाएका एक दर्जनभन्दा बढी यात्रुलाई नदीबाट उद्धार गरी नजिकैका जहाजमा पुर्याइएको थियो । दुर्घटनाका बेला नदीको पानीको तापक्रम १९ डिग्री सेल्सियस थियो । जहाज क्रमशः पानीतर्फ ढल्किँदै गएपछि केही यात्रु रेलिङ नजिकै उभिएका थिए ।
प्रत्यक्षदर्शी जेमी होल्फोर्डले स्थानीय टेलिभिजनसँग ठोक्किएको १५ मिनेटमै जहाज पल्टिएको बताए ।
घटनास्थलमा पोर्ट प्रहरी, दमकल, तटरक्षक बल र आपत्कालीन चिकित्सा टोली परिचालन गरिएको थियो । घाइतेको उपचार प्राथमिकताका आधारमा गर्न पोर्टको प्रशासनिक भवनमा छुट्टै क्षेत्र बनाइएको थियो । दुर्घटनापछि मिसिसिपी नदीमा जहाज आवतजावत रोकिएको छ ।
क्रूज जहाज सञ्चालक कम्पनी ‘अमेरिकन क्रूज लाइन्स’ले सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाएको छ ।
सन् २०१५ मा निर्मित पाँच डेकको ‘अमेरिकन हेरिटेज’मा १५० जना यात्रु अटाउने क्षमता छ । जहाज लुजियाना र मिसिसिपीका विभिन्न स्थान समेटिएको आठदिने क्रूज यात्रामा थियो ।
‘मरिन ट्राफिक’का अनुसार १६० मिटर लामो ट्यांकर मार्सल टापुको झण्डा फहराउँदै न्यु अर्लिन्सतर्फ जाँदै थियो । समुद्री मामिलासम्बन्धी पत्रिका ‘मरिन इनसाइट्स’का अनुसार उक्त ट्यांकर मुख्यतः डामर र बिटुमेन ढुवानीमा प्रयोग हुन्छ ।
दुर्घटनाको कारण र ठोक्किँदा ट्यांकरमा सामान लोड गरिएको थियो वा थिएन भन्ने खुलेको छैन ।
सन् २०१५ मा निर्मित पाँच डेक भएको ‘अमेरिकन हेरिटेज’ मा १५० जना यात्रु अटाउने क्षमता छ । उक्त जहाज लुजियाना र मिसिसिपीका विभिन्न स्थान समेटिएको आठदिने क्रूज यात्रा सञ्चालन गरिरहेको थियो ।


















