काठमाडौं । एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् ।
एसिया कप राइजिङ स्टार्सका लागि पवन सर्राफ, दीपक डुम्रे, अभिशेष गौतम र राशिद खानलाई मौका दिइएको हो । एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ तारिखदेखि कतारमा आयोजना हुँदै छ । नेपालले समूह चरणमा नोभेम्बर २० तारिखमा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले प्रतियोगितामा आफ्नो ‘ए’ टोली उतार्नेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोली खेलाउन सक्नेछन् । यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ ।
नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै राइजिङ स्टार्स एसिया कप र एसिया कप दुवैका लागि छनोट भएको थियो । प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो भएको हङकङले पनि राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएका थिए ।


















