Logo
Logo

बजारमा माग बढेपछि ‘थारु आलुखेती ’ विस्तार गर्दै किसान


0
Shares

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको खेती विस्तार हुँदै गएको छ ।

The current image has no alternative text. The file name is: tharu-alukheti.jpg

बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान हाकिम थारुले गत वर्ष गाउँपालिकाबाट अनुदानमा प्राप्त बीउबाट राम्रो उत्पादन भएपछि यस वर्ष खेतीको क्षेत्रफल बढाएका छन् । गत वर्ष एक कट्ठामा खेती गर्दा चार क्विन्टल आलु उत्पादन भएको र स्वाद तथा बजार मूल्य राम्रो पाएपछि यस वर्ष दुई कट्ठामा खेती गर्न लागेको उनले बताए । 

उनले भने, “स्थानीय थारु आलुको स्वाद राम्रो छ । उत्पादन राम्रो भएपछि यस वर्ष खेती विस्तार गरेको हुँ । मैनापोखरका किसान परशुराम थारुले गत वर्ष दुई कट्ठा क्षेत्रफलमा थारु आलुखेती गरेर सात क्विन्टल उत्पादन गरेका थिए । उत्पादित आलुमध्ये चार क्विन्टल बिक्री गरेर रु २० हजार आम्दानी गर्न सफल भएको उनले जानकारी दिए । 

उनले भने, “थारु आलुको बजार राम्रो छ । आलु किन्न ग्राहक घरमै आउने गरेका छन् । त्यसैले यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।” यस वर्ष पनि खेतीलाई निरन्तरता दिएको उनले बताए । 

बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज बस्दै आउनुभएकी सपना भट्टराईले बजारमा उपलब्ध भएसम्म थारु आलु नै किन्ने गरेको बताए । स्वादिलो हुनुका साथै लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले सिजनमा किनेर वर्षभरि पुग्नेगरी राख्ने गरेको उनको भनाइ छ ।
 
एक दशकअघि लोप हुने अवस्थामा पुगेको थारु आलु बजारमा माग बढ्न थालेपछि पुनः खेती विस्तार र व्यावसायिक उत्पादनतर्फ उन्मुख भएको छ । बर्दियामा उत्पादित आलुको माग स्थानीय बजारका साथै नेपालगन्ज, कोहलपुर, काठमाडौँ र पोखरासम्म हुने गरेको राजापुरका किसान जगत चौधरीले बताए । 

आलुको संरक्षण र व्यावसायिक खेती प्रवर्द्धनका लागि जिल्लाका विभिन्न स्थानीय तहले अनुदानमा बीउ वितरण गर्न थालेका छन् । बढैयाताल गाउँपालिकाका विभिन्न वडामा ३० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएकामा पाँच हेक्टरमा थारु आलुखेती हुने गरेको गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीले बताए । 

उनका अनुसार गाउँपालिकाले गत वर्ष आलुखेती विस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १६ क्विन्टल आलुको बीउ वितरण गरेको थियो । चालु आर्थिक वर्षमा आलुखेती विस्तारका लागि रु चार लाख बजेट विनियोजन गरिएको छ । किसानको मागका आधारमा उक्त बजेट थारु आलुखेती प्रवर्द्धनमा खर्च गर्न सकिने उनले जानकारी दिए । 

रैथाने बालीका रूपमा रहेको थारु आलु जिल्लाका आठवटै स्थानीय तहमा खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीले बताए । उनका अनुसार उत्पादन क्षेत्रफलको एकिन तथ्याङ्क नभए पनि बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा यसको खेती बढी हुने गरेको छ ।

रैथाने बाली संरक्षणका लागि प्रदेश सरकारले रु चार लाख बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले थारु आलु पनि रैथाने बालीअन्तर्गत पर्ने भएकाले यसको संरक्षण तथा प्रवर्द्धनमा उक्त बजेट खर्च गर्न सकिने बताए । 

थारु समुदायमा परम्परागत रूपमा खेती हुँदै आएको आलु स्वादका दृष्टिले अन्य प्रजातिका आलुभन्दा फरक र विशेष मानिन्छ । यसको भण्डारणका लागि शीतभण्डार आवश्यक नपर्ने कृषि प्राविधिक चौधरीले बताए । 

प्रकाश नपर्ने ओसिलो ठाउँमा राख्नसके वर्षभरि नै भण्डारण गर्न सकिने उनको भनाइ छ । अन्य प्रजातिका आलुको तुलनामा थारु आलुको उत्पादन केही कम भए पनि बजारमा बढी मूल्य पाइने भएकाले किसानका लागि आम्दानीका दृष्टिले फाइदाजनक रहेको उनले बताए ।  किसानका अनुसार थारु आलु प्रतिकिलो रु ४० सम्ममा बिक्री हुने गरेको छ । स्वादिलो भएकाले उपभोक्ताले पनि यसलाई रुचाउने गरेका छन् ।

पर्याप्त प्रचारप्रसार र बजारीकरणको अभावमा थारु आलुले अपेक्षाअनुसार बजार पाउन सकेको छैन । यसको संरक्षण, व्यावसायिक खेती विस्तार तथा बजारीकरणका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने किसान अगुवा जगत चौधरीले बताए । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000