म्यानचेस्टर युनाइटेडको तमासा अझै जारी छ ! स्थायी प्रशिक्षकका रूपमा दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेको मुस्किलले सात महिना नबित्दै माइकल क्यारिकलाई पदबाट बर्खास्त गरिएको छ । अब उनको स्थानमा आएका मौरिसियो पोचेटिनोसामु साँच्चै रेलिगेसनको खतरामा परेको यो निराशाजनक टोलीलाई उकास्ने कठिन चुनौती छ ।
गत सिजन प्रिमियर लिगमा तेस्रो स्थान हासिल गरेपछि क्यारिकको नेतृत्वमा युनाइटेड जसरी एकाएक खस्कियो, त्यो चिन्ताजनक भए पनि कत्ति पनि अचम्मलाग्दो भने थिएन । सर एलेक्स फर्गुसनपछिको युगमा हरेक एक कदम अगाडि बढ्दा क्लब दुई कदम पछाडि धकेलिएको छ र अहिलेको अवस्थामा प्रशिक्षकहरू मात्र आंशिक रूपमा दोषी छन् भन्ने कुरा स्पष्ट छ ।
ग्लेजर परिवारको स्वामित्वमा फुटबलभन्दा व्यावसायिक स्वार्थले प्राथमिकता पाउँदै आएको छ । सन् २०२४ को सुरुवातमा इनियोसले अल्पमत सेयर खरिद गरी फुटबल सञ्चालनको जिम्मेवारी लिए पनि त्यो प्रवृत्ति रोकिएन । किनकि ग्लेजरहरूले क्लब किन्न लिएको ऋणको ब्याज तिर्नुपर्ने विशाल रकम र वार्षिक रूपमा लाभांशका नाममा निकाल्ने करोडौँ पाउन्डका कारण युनाइटेड अझै पनि अर्बौँ पाउन्डको ऋणमा डुबेको छ ।
यद्यपि, अँध्यारो सुरुङको अन्त्यमा अझै पनि आशाको किरण देखिएको छ, किनकि ग्लेजरहरू क्लब बेच्ने तयारीमा रहेको दाबी केहीले गरिरहेका छन् । उनीहरूले सन् २०२२ को नोभेम्बरमा पनि यस्तै प्रक्रिया सुरु गरेर पछि पूर्ण बिक्रीबाट पछि हटेका थिए, तर आउने महिनाहरूमा आफ्नो निरन्तरको दबाबले अन्ततः सार्थकता पाउनेछ भन्ने युनाइटेडका समर्थकहरूको प्रार्थना छ ।
यो कुरा स्पष्ट छ कि ग्लेजरहरू नहटेसम्म युनाइटेड शीर्ष स्थानमा फर्कन सक्दैन । पोचेटिनो कुनै जादुगर होइनन्, अमेरिकी मालिकहरूले सिर्जना गरेको विषाक्त वातावरणमा कुनै पनि प्रशिक्षकले दीर्घकालीन योजना सफल पार्न सक्दैन । यद्यपि, क्यारिक असफल भएको ठाउँमा टोटनहम र चेल्सीका पूर्वप्रशिक्षक पोचेटिनो सफल हुन सक्छन् र उज्ज्वल भविष्यको निर्माण सुरु गर्न सक्छन् । उनले हाल टोलीलाई सताइरहेका ठूला समस्याहरू समाधान गर्नुपर्ने छ ।

अहिलेको अवस्थामा युनाइटेडले ट्रान्सफर बजारमा आफ्ना मुख्य प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन, जसको कारण क्लबको थिलथिलो बनाउने ऋण र वर्षौँदेखिका अक्षम्य खेलाडी अनुबन्धका गल्तीहरू हुन् । निर्देशक जेसन विल्कोक्सको ’डाइरेक्टर अफ फुटबल’का रूपमा देखिएको प्रस्ट असफलतापछि यदि पोचेटिनोलाई क्यारिकभन्दा बढी अधिकार दिइयो भने जनवरी ट्रान्सफर विन्डो खुल्नेबित्तिकै उनको पहिलो काम टोलीमा बोझ बनेका अनुपयोगी खेलाडीहरूलाई बाहिर पठाउनु हुनुपर्छ, यसले युनाइटेडलाई आवश्यक नयाँ खेलाडी किन्न रकम जुटाउने मात्र होइन, ड्रेसिङ रुमको स्तर पनि उकास्नेछ ।
रुबेन अमोरिमले एन्टोनी, अलेजान्ड्रो गार्नाचो र रास्मस होयलुन्डजस्ता ओल्ड ट्राफोर्डको स्तरमा कहिल्यै खरो उत्रिन नसक्ने खेलाडीहरूलाई हटाएर त्यसो गर्ने सक्दो प्रयास गरेका थिए । साथै, सङ्कटको समयमा युनाइटेड एकेडेमीका ब्याचलर मार्कस रासफोर्डले मैदानमा मेहनत गर्न छाडेको देखेपछि उनले रासफोर्डलाई एस्टन भिल्ला र बार्सिलोना दुवैमा लोनमा पठाउन हरियो झन्डा देखाएका थिए ।
क्यारिकले धेरै गल्ती गरेनन्, तर समरमा रासफोर्डलाई टोलीमा फिर्ता ल्याउनु उनको ठुलो भूल थियो । अस्थिर प्रदर्शन गर्ने ती फरवार्डका लागि स्थायी खरिदकर्ता खोज्नु प्राथमिकता हुनुपथ्र्यो । यदि पोचेटिनोले रासफोर्डलाई क्लबबाट बिदा गर्न सके भने उनको तलब खर्चबाट हप्ताको ३ लाख पाउन्डभन्दा बढी बचत गर्नेछ र सबैले एउटै दिशामा काम गर्नुपर्छ भन्ने कडा सन्देश टोलीमा जानेछ ।
लिसान्ड्रो मार्टिनेज र मेसन माउन्टलाई पनि जतिसक्दो चाँडो बेच्नुपर्छ भने म्यानुअल उगार्टे र जोशुआ जिर्कजी क्लबका लागि पर्याप्त स्तरीय छैनन् । त्यस्तै, लामो समयदेखि क्लबमा रहेका लुक शा र डिओगो डालोटको समय पनि सकिइसकेको छ । यदि पोचेटिनोलाई आफ्नै शैलीअनुसार टोली पुनर्गठन र ताजा बनाउने पूर्ण स्वतन्त्रता दिइएन भने उनको नेतृत्वमा नयाँ सुरुवात सम्भव छैन ।
सन् २०२६–२७ सिजनको १० खेल सकिँदा युनाइटेड प्रिमियर लिगको तेस्रो सबैभन्दा कमजोर डिफेन्स भएको टोली बनेको छ (१९ गोल खाइसकेको छ) र विपक्षीहरूले लेफ्ट–ब्याकलाई युनाइटेडको सबैभन्दा ठूलो कमजोरीका रूपमा पहिचान गरिसकेका छन् । समरमा विल्कोक्स र बोर्डले मिडफिल्ड सुधारका लागि १५ करोड पाउन्ड खर्च गर्न स्वीकृति दिनु तर अर्को फुल–ब्याक अनुबन्ध गर्न बेवास्ता गर्नु अचम्मलाग्दो थियो, किनकि शाको शरीरले हप्तामा तीन खेलको भार धान्न सक्दैनथ्यो ।

३१ वर्षीय शा मांसपेशीको समस्याका कारण रेड डेभिल्सका पछिल्ला सात खेलमा अनुपस्थित रहे र क्यारिकसँग उनको स्थानमा खेल्ने स्वाभाविक विकल्प थिएन । अन्ततः उनले राइट–ब्याक डालोटलाई लेफ्टमा खेलाउने निर्णय गरे, जसको नतिजा विनाशकारी रह्यो । ती पोर्चुगिज खेलाडी टोलीका लागि पूर्ण बोझ बनेका छन्, समयमा पछाडि नफर्किएर युनाइटेडलाई असुरक्षित बनाउने र ठूला गल्तीहरू गर्ने गर्दा युनाइटेडले घरेलु तथा युरोपेली प्रतियोगितामा महत्त्वपूर्ण अङ्क गुमाएको छ ।
नुसायर माजराउई पनि मूलतः राइट–ब्याक नै हुन् भने प्याट्रिक डोर्गु विङ्गर जस्ता बढी देखिन्छन् । पोचेटिनोले विशेषज्ञ लेफ्ट–ब्याक भित्र्याउनुलाई प्राथमिकता दिनुपर्छ, जसमा फुलहमका काल्भिन बासी युनाइटेडको नजरमा रहेको बताइएको छ र आदर्श स्थितिमा राइट–ब्याकमा पनि अझ राम्रो गुणस्तरीय विकल्प ल्याउनुपर्छ, जहाँ अहिले लेनी योरोले अतिरिक्त कभर दिइरहेका छन् ।
अमेरिकी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पोचेटिनोले सधैँ आफ्ना टोलीलाई चौडाइ दिन फुल–ब्याकहरूको प्रयोग गर्ने भएकाले उनले त्यसो नगरेमा अचम्म हुनेछ । यसले अग्रपङ्क्तिलाई साँघुरो भएर खेल्न मद्दत गर्छ, जुन माथ्युस कुन्हा र ब्रायन एम्बुएमोका लागि विशेष रूपमा सुहाउँदो हुन्छ । तर डालोटले नै यति धेरै जिम्मेवारी बोकिरहने हो भने पोचेटिनोको आक्रामक र अगाडि बढेर खेल्ने प्रणाली पक्कै पनि काम लाग्ने छैन ।
युनाइटेडको कमजोरी रक्षापङ्क्तिको मध्यभाग (सेन्टर–ब्याक) सम्म फैलिएको छ, जसको अर्थ पोचेटिनोसँग तयार जोडी उपलब्ध हुनेछैन; यद्यपि अनुभवको कमी उनको सबैभन्दा ठूलो चिन्ताको विषय हुनेछ ।
गत साताको अन्त्यमा एस्टन भिल्लाविरुद्धको रोमाञ्चक ४–४ को बराबरीमा ह्यारी मग्वायर हाफ–टाइममै बाहिरिन बाध्य हुँदा, क्यारिकसँग २० वर्षीय एडेन हेभनलाई उही उमेरका योरोको साथमा उतार्नुबाहेक अरू विकल्प थिएन । माथिस डि लिग्ट बेन्चमा त थिए, तर ढाडको चोटका कारण झन्डै एक वर्ष बाहिर बसेपछि उनी अझै पूर्ण फिटनेस प्राप्त गर्ने प्रयासमा छन् ।
२७ वर्षका मात्र भए पनि डि लिग्टको शारीरिक अवस्थाबारे गम्भीर प्रश्नहरू छन् र ३३ वर्षीय मग्वायर अहिले नियमित रूपमा उपचार कक्षमा हुने गर्छन् । यी दुवैलाई एक सिजनमा ५० जति खेल खेल्नका लागि भर पर्न सकिँदैन र योरो तथा हेभनजस्ता युवा खेलाडीहरूबाट त्यति धेरै अपेक्षा गर्नु पनि उचित हुँदैन ।

त्यसपछि मार्टिनेजको कुरा आउँछ । अर्जेन्टिनी डिफेन्डरको युनाइटेड करियर पनि चोटले थला परेको छ, र फिट हुँदा पनि उनी विशेष गरी यो सिजन पर्याप्त राम्रा देखिएका छैनन् । अक्टोबरमा एट्लेटिको मड्रिडविरुद्धको निराशाजनक खेलपछि क्लब नेतृत्वविरुद्ध बोलेयता उनी बढ्दो दबाबमा छन् र अर्को समरमा सम्झौता सकिनुअघि नै पोचेटिनोले उनलाई बेच्ने बाटो खोज्नुपर्छ ।
जनवरी विन्डोअघि रेड डेभिल्सलाई ब्रेन्टफोर्डका नाथन कोलिन्ससँग जोडेर हेरिएको छ, यसले समर्थकहरूलाई उत्साहित नबनाउन सक्छ । तर २५ वर्षीय कोलिन्स प्रिमियर लिगमा प्रमाणित खेलाडी हुन् र उनका लागि अत्यधिक ट्रान्सफर शुल्क पनि लाग्ने छैन । एभर्टनका जाराड ब्रान्थवेटलाई पनि अझै युनाइटेडको लक्ष्यका रूपमा हेरिएको छ । युवा अङ्ग्रेजी प्रतिभाहरूलाई निखार्ने मामिलामा पोचेटिनोको रेकर्ड प्रभावशाली छ, जसमा साउथह्याम्पटनमा रहँदा शा स्वयं, र ह्यारी केन, डेले अली, एरिक डायर, काइल वाकर, कोल पाल्मर र कोनर गालाघरजस्ता खेलाडीहरूले उनको प्रशिक्षणमा उल्लेखनीय सुधार गरेका थिए ।
समरमा युरी टिलेमान्स, कार्लोस बालेबा र आन्द्रे सान्तोसलाई भित्र्याए पनि युनाइटेडको मिडफिल्ड अझै अस्तव्यस्त छ । तीमध्ये कोही पनि क्यासेमिरोजस्तो गोलको खतरा र हवाई बलमा प्रभुत्व दिन सक्षम छैनन् । डबल–पिभोटमा कोबी माइनु पहिलो रोजाइका खेलाडी भएकाले बालेबा वा सान्तोसमध्ये एक जना अन्ततः बेन्चमै सीमित हुनेछन् ।
बालेबासँग माइन्ुको प्राविधिक गुणलाई सन्तुलनमा राख्ने शारीरिक क्षमता छ, तर ओल्ड ट्राफोर्डमा सुरुवाती केही महिना अस्थिर रहेकाले ब्राइटनका पूर्वखेलाडीले आफ्नो फिटनेस प्रमाणित गर्न बाँकी छ । यता, टिलेमान्सलाई राख्ने एकमात्र तार्किक स्थान नम्बर १० को भूमिका हो, जसको अर्थ उनी गत सिजनका पीएफए प्लेयर अफ द इयर ब्रुनो फर्नान्डेससँग प्रत्यक्ष प्रतिस्पर्धामा हुनेछन् ।
बेल्जियन खेलाडी टिलेमान्सलाई टोलीमा अटाउन क्यारिकले फर्नान्डेसलाई विङ्गतर्फ वा अपरिचित ‘फल्स नाइन’को भूमिकामा पठाउँदा युनाइटेड झन् लयविहीन देखियो । यदि फर्नान्डेसले अर्को समरमा क्लब नछाडेमा टिलेमान्स छिट्टै एक वैकल्पिक (युटिलिटी) खेलाडी बन्न सक्छन्, किनकि उनलाई माइनुसँगै खेलाउँदा पनि काम लाग्दैन ।
टिलेमान्सको पूर्वक्लब भिल्लासँगको बराबरीमा, युनाई एमरीको टोलीले २९ वर्षीय टिलेमान्सको फर्कने गतिको कमीको पटक–पटक फाइदा उठायो । फर्नान्डेसले माथि गएर प्रेसिङ गर्दा टिलेमान्स र माइनु सधैँ धेरै टाढा हुन्थे, जसले भिल्लालाई युनाइटेडको मिडफिल्ड छिचोलेर खेल्न सहज बनायो ।
पोचेटिनोले सन्तुलन पुनस्र्थापित गर्ने उपाय खोज्नु अत्यावश्यक छ र यसको एक सम्भावना उनले आफ्ना अघिल्ला क्लबहरूमा नियमित प्रयोग गरेको ४–३–३ फर्मेसनमा जानु हो । बालेबाले डिफेन्सलाई सुरक्षा प्रदान (स्क्रिन) गर्न सक्छन् भने फर्नान्डेस र माइनु दुवैले सहयोग गर्नुका साथै अगाडि बढ्ने स्वतन्त्रता पाउन सक्छन् । त्यो प्रणालीले मध्य क्षेत्रलाई कसिलो बनाउनेछ र विपक्षीलाई साइडबाट खेल्न बाध्य पार्दै युनाइटेडलाई अझ बलियो टोली बनाउन सक्छ ।
स्ट्राइकर अनुबन्ध गर्नु
आक्रमणमा पोचेटिनोसँग प्रतिभाशाली फरवार्डहरूको कमी हुनेछैन, जसमा यदि उनले राख्ने अडान लिएमा रासफोर्ड पनि पर्छन् । एम्बुएमो बलियो र सिधा आक्रमण गर्ने खेलाडी हुन्, कुन्हा खतरनाक दायाँ खुट्टा भएका उत्कृष्ट ड्रिब्लर हुन्, आमाद डियालो आफ्नो गति र फुर्तीले लगातार खतरा बनिरहन्छन् (यद्यपि उनको अन्तिम प्रहारमा गम्भीर सुधार आवश्यक छ) र उनलाई एकेडेमीका किशोर स्टार शिया लेसीले कडा चुनौती दिइरहेका छन्, जो आफ्नो उमेरभन्दा निकै परिपक्व फुटबल बुद्धि भएका रोमाञ्चक विङ्गर हुन् ।
यद्यपि, मध्य आक्रमण (स्ट्राइकर) मा भने अवस्था त्यति राम्रो छैन । बेन्जामिन सेस्को गत सिजन एम्बुएमोसँगै प्रिमियर लिगमा युनाइटेडका संयुक्त सर्वाधिक गोलकर्ता थिए, तर केवल ११ गोल गर्नु त्यति प्रभावशाली थिएन । ७ करोड ४० लाख पाउन्डको ट्रान्सफर शुल्कलाई न्याय गर्न त्यो पक्कै पर्याप्त थिएन, र मे महिनामा पिँडुला (शिन) को चोट लागेपछि उनको लय पूर्ण रूपमा रोकियो ।
सेप्टेम्बरमा ब्राइटनविरुद्धको काराबाओ कप हारमा चोट बल्झिएपछि सेस्को नयाँ वर्षसम्मका लागि मैदान बाहिर रहेका छन् । गोल गर्न नसक्ने जिर्कजीमाथि क्यारिकले विश्वास नगरेपछि उनले कुन्हा र एम्बुएमोलाई पालैपालो नम्बर ९ को भूमिकामा खेलाए । यो कुन्हालाई सुहाउँदैन किनकि उनी स्वाभाविक रूपमा तल झरेर खेल निर्माण गर्न रुचाउँछन्, जबकि एम्बुएमो दायाँबाट भित्र काटेर छिर्दा सबैभन्दा राम्रो खेल्छन् ।
यदि युनाइटेडले आफ्नो सिजन जोगाउने हो, जसको अर्थ कम्तीमा शीर्ष पाँचमा पर्नैपर्छ भने पोचेटिनोले अर्को स्ट्राइकर ल्याउनैपर्छ । सेस्को फर्कने प्रतीक्षा गर्नु ठूलो जोखिम हुनेछ, किनकि उनी अझै काँचै छन् र अङ्ग्रेजी फुटबलको गतिसँग घुलमिल हुन बाँकी नै छ ।
लिड्सका स्टार डोमिनिक काल्भर्ट–लेविन र हाल साउदी अरेबियाको अल–अहलीमा खेलिरहेका ब्रेन्टफोर्डका पूर्व स्टार इभान टोनीलाई रेड डेभिल्सको सम्भावित लक्ष्यका रूपमा हेरिएको छ । यी दुवै खेलाडीमा पोचेटिनोको नेतृत्वमा चम्किन सक्ने पेनाल्टी बक्सभित्रको दबदबा छ । त्यस्तै फुलहममा अवसर नपाइरहेका रोड्रिगो मुनिजको नाम पनि कम आकर्षक विकल्पका रूपमा चर्चामा छ, तर उनले पनि जिर्कजीभन्दा बढी योगदान दिन सक्छन् र अर्को समरसम्मका लागि कामचलाउ विकल्प बन्न सक्छन् ।
तर, दिनको अन्त्यमा यदि खेलाडीहरूको मेहनतको स्तर क्यारिकको समयमा जस्तै रह्यो भने टोलीमा जतिसुकै शल्यक्रिया (परिवर्तन) गरे पनि त्यसको कुनै अर्थ रहनेछैन । सिजन सुरु हुनुअघि युनाइटेडका लिजेन्ड रियो फर्डिनान्डसँगको अन्तर्वार्तामा टिलेमान्सले प्रि–सिजन प्रशिक्षणमा ‘धेरै दौडधुप नभएको’ खुलासा गरेका थिए र पहिलो सातामै नवप्रवेशी हल सिटीसँग शारीरिक रूपमा पछि पर्दा त्यसको असर प्रस्ट देखिएको थियो ।
अहिलेको अवस्थामा आउँदा क्यारिकको नेतृत्वमा प्रति ९० मिनेटमा केवल १०२.३८ किलोमिटर मात्र दौडिएर युनाइटेड प्रिमियर लिगमा कुल दौडिने दूरीमा १९औँ स्थानमा छ भने स्प्रिन्ट (तीव्र दौड) र कुल स्प्रिन्ट समयमा तालिकाको पुछारमा छ । क्यारिकले रुचाएको ‘मिड–ब्लक’ डिफेन्सिभ शैलीलाई ध्यानमा राख्दा पनि यो अक्षम्य छ ।

स्काई स्पोट्र्सका लागि क्रेभन कटेजमा फुलहमसँग युनाइटेडले १–१ को बराबरी खेलेको खेलको विश्लेषण गर्ने क्रममा पूर्वकप्तान ग्यारी नेभिलले खेलाडीहरूको चर्को आलोचना गर्दै दोस्रो हाफको सुरुवातलाई क्लबको समर्थकका रूपमा ‘मैले देखेको सबैभन्दा खराब १५ मिनेट’ भनेका थिए ।
खेलपछि नेभिलले थपे, ‘मैले उनीहरूलाई म्यानिक्विन (पुतला) भनेँ । मैले म्यानचेस्टर युनाइटेडको टोलीले १५ मिनेटसम्म त्यसरी हिँडेको कहिल्यै देखेको थिइनँ । कुनै सतर्कता छैन, खुट्टाको औँलामा चनाखो भएर बसेका छैनन्, जब कि सधैँ चनाखो हुनुपर्छ, दुई–तीन यार्ड सर्ने काम समेत भएन । फुलहमको बल पोसेसन हुँदा केवल हिँडिरहे । नदौडिनु नै एकमात्र यस्तो कुरा हो, जसलाई म लज्जास्पद भन्न चाहन्छु ।’
पोचेटिनोले अब यस्तो हुन दिने छैनन् । उनको उच्च–तीव्रता (हाई–इन्टेन्सिटी) को शैलीले आक्रमणकारी र मिडफिल्डर दुवैबाट अधिकतम शारीरिक मेहनतको माग गर्छ, जसमा टोलीलाई कसिलो राख्न सेन्टर–ब्याकहरू हाफवे लाइनसम्म अगाडि बढ्छन् । आफ्नो जिम्मेवारी पूरा नगर्नेहरू लामो समय टिक्ने छैनन्, तर जो खट्छन् उनीहरूले यसको प्रतिफल पाउनेछन् ।
‘म झुट बोल्ने छैन, सुरुमा मलाई उनी मन पर्दैनथे किनकि उनले मलाई मेरो सीमाभन्दा बाहिर धकेले,’ साउथह्याम्पटनमा पोचेटिनोसँग काम गरेको समय सम्झँदै रिकी ल्याम्बर्टले द एथलेटिकलाई भनेका थिए । ‘उनले एक बिन्दुमा मलाई साँच्चै थकाएर चूर पारेका थिए । त्यो बेला रमाइलो त थिएन, तर जब तपाईं त्यसलाई स्वीकार गर्नुहुन्छ र उनीसँगै अगाडि बढ्नुहुन्छ, तब मात्र वास्तविक फाइदा देख्न थाल्नुहुन्छ ।’
‘शारीरिक र मानसिक रूपमा उनले तपाईंको खेललाई पूरै नयाँ स्तरमा पुर्याउँछन् । पोचले यस्तो वातावरण सिर्जना गरे जहाँ खेलाडीहरू अझ फिट र बलियो बन्न एकअर्कासँग प्रतिस्पर्धा गर्थे । त्यो मेरो करियरको सबैभन्दा फिट समय थियो ।’ यदि कुनै क्लबलाई यस्तो खालको झट्काको आवश्यकता छ भने, त्यो युनाइटेड नै हो, र इनियोसले अन्ततः सम्मान आर्जन गर्न सक्ने प्रशिक्षक छानेको छ ।
पोचेटिनोका पुराना मित्र तथा साउथह्याम्पटन र टोटनहममा रहँदा उनले सल्लाह लिने गरेका मोटिभेसनल कोच जेस्को एस्पारले सन् २०२१ मा द एथलेटिक सँग थपेका थिए, ‘उनी खेलाडीहरूसँग कुरा गर्न सक्छन्, र उनीहरू अहिले जे छन् त्योभन्दा अझ ठूलो बनाउन सक्छन् । यो उनको वरदान हो । उनी अरू मानिसहरूमा विश्वास गर्छन्, र अरू मानिसहरू जब उनीसँग कुरा गर्छन्, तब आफूमाथि विश्वास गर्न थाल्छन् ।’
अन्तर्राष्ट्रिय विश्रामपछि जब युनाइटेड लिभरपुलको सामना गर्न एनफिल्ड पुग्नेछ, तब पोचेटिनोको यो ‘वरदान’ले समर्थकहरूमा पनि पुनः विश्वास जगाउन सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी नै छ ।
गोल डटकमबाट


















