Logo
Logo

बालेन सरकारमाथि खनिए ओली, एमालेले पुनः सरकारको नेतृत्व गर्ने दाबी


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी र दमनकारी बाटोमा अघि बढेको आरोप लगाउँदै सरकारमाथि आक्रोश पोखेका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुक अहिले राजनीतिक आतंक र भयको छायामुनि चलिरहेको टिप्पणी गरे । सरकारको दमनकारी र प्रतिशोधी व्यवहारले देशलाई फाँसीवादतर्फ धकेलिरहेको आरोप लगाउँदै उनले आर्थिक रूपमा समेत देश लगातार अधोगतितर्फ गइरहेको जिकिर गरे ।

उनले भने, “देश भय र त्रासको वातावरणमुनि, असंवैधानिक र गैरकानुनी क्रियाकलापहरूको पेलाइमा तथा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ । सरकारको दमनकारी र प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ भने आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ ।”

गत वर्षका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै ओलीले अनधिकृत, हिंसात्मक र अलोकतान्त्रिक तरिकाबाट सत्ता उलटफेर गरी लोकतन्त्र र संविधान मास्ने काम भएको बताए । नेपालको इतिहासमै नभएका आगजनी, लुटपाट र तोडफोडजस्ता गतिविधिहरूलाई वैधानिकता दिनका लागि संवैधानिक आवरणमा फागुन २१ गतेको निर्वाचन मञ्चन गरिएको उनको टिप्पणी थियो ।

पुनः सरकारमा फर्कने चेतावनी
आफ्नो पार्टी विगतमा पनि कसैको कृपा वा आशीर्वादले नभई जनताको मत र संघर्षको मैदानबाट सरकारमा पुगेको स्पष्ट पार्दै ओलीले विपक्षीहरूलाई चुनौती दिए ।

“प्रतिक्रियावादी, जनविरोधी वा देशद्रोही शक्तिको कृपामा एमाले सरकारमा गएको थिएन, जनताको कृपाले गएको हो,” उनले भने, “कान खोलेर सुने हुन्छ, नेकपा एमाले फेरि सरकारमा जान्छ र देश बनाउँछ ।”

अध्यक्ष ओलीले आफ्नो पार्टीले अगाडि सारेका विकास निर्माणका कामलाई पुनः निरन्तरता दिने बताउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000