काठमाडौं । नेपाली कांग्रेस (देउवा पक्ष) का नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्व गर्न आफूहरू वडा तहदेखि नै छुट्टै संगठित भइरहेको बताएका छन् ।

कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता लेखकले पार्टीभित्रको विवाद मिलाउने हरसम्भव प्रयास गर्दागर्दै सफल नभएपछि बाध्यतावश छुट्टै संगठन निर्माण गर्नुपरेको स्पष्ट पारे ।
‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामी वडादेखि नै संगठित हुँदै आज यो अवस्थामा आइपुगेका छौं र जिल्ला अधिवेशन गरिरहेका छौं,’ नेता लेखकले भने, ‘पार्टीभित्र कुरा मिलाउने प्रयत्न गर्दागर्दै नसकेपछि हामी बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका हौं ।’
पार्टीका हरेक तहमा दुईवटा समिति बनेको उल्लेख गर्दै उनले पार्टीको आन्तरिक जीवन र समग्र राष्ट्रिय राजनीतिको अवस्था दुवै सुखद् नरहेको बताए ।
‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखा परेको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम् परिस्थिति छ, हामी निकै अप्ठ्यारो मोडमा छौं ।’
पूर्वगृहमन्त्री समेत रहेका लेखकले पार्टी औपचारिक रूपमै दुई चिरा परेको जिकिर गरे । ‘अब लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुईवटा भइसकेको छ,’ उनले स्पष्ट पार्दै भने, ‘तर, नेपाली कांग्रेसको सक्कली आत्मा, विचार र भावना यहीँ (हाम्रो पक्षमा) छ ।’
नेता लेखकले कञ्चनपुरका नेता तथा कार्यकर्ताहरूलाई उच्च आत्मबलका साथ अगाडि बढ्न आग्रहसमेत गरे । ‘वास्तविक नेपाली कांग्रेस यही नै हो,’ उनले भने, ‘तपाईंहरू यही उच्च आत्मबलका साथ दृढ भएर अगाडि बढ्नुहोला ।’


















