काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

बुधबार त्रिवि क्रिकेट रंगशालामा चितवनका रवि बोपाराले टस जित्दै काठमाण्डूलाई फिल्डिको निम्तो दिए । खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् ।
काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो ।
यता, चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो । टोलीले सात खेलबाट समान तीन जित र हारसहित सात अंक जोडेको थियो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।


















