काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

बिहीबार रुसको मस्कोबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा दाहालले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारीहरूलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । आफू प्रधानमन्त्री हुँदा अघि बढाएका कामहरूलाई वर्तमान प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने अपेक्षा गरेको उनको भनाइ छ ।
भ्रमणका एजेन्डाका सन्दर्भमा प्रचण्डले विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई टुंगोमा पुर्याउनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा उक्त परियोजनासम्बन्धी सहमति हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले त्यसलाई निष्कर्षमा पुर्याउन सके नेपाल र भारत दुवै देशका लागि ऐतिहासिक उपलब्धि हुने विचार व्यक्त गरे । यसका साथै, विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सहमति र कृषि क्षेत्रको विकासका लागि भएका समझदारीहरूलाई पनि कार्यान्वयन गर्न उनले सुझाव दिएका छन् ।
सोही क्रममा दाहालले वर्तमान सरकारप्रतिको आफ्नो पार्टीको दृष्टिकोणसमेत स्पष्ट पारे । सरकारको राम्रो काममा आफ्नो पार्टीको समर्थन रहने र गलत काम गरे आलोचना गर्ने उनले बताए । प्रधानमन्त्री शाहले आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुरा जनताले मूल्यांकन गरिरहेको उल्लेख गर्दै प्रचण्डले सरकारलाई सकारात्मक काम गर्न आग्रह गरे ।
संयोजक प्रचण्ड रुसको राजधानी मस्कोमा त्यहाँको सत्तारुढ दल ‘युनाइटेड रसिया’ द्वारा आयोजित ‘राष्ट्रहरुको स्वतन्त्रताका लागि’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज बिहान स्वदेश फर्किएका हुन् । विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० जना नेता तथा प्रतिनिधिको सहभागिता रहेको उक्त सम्मेलनमा प्रचण्डले दुईपटक सम्बोधन गरेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै उनले संसार बहुध्रुवीय विश्व व्यवस्थातर्फ गएको औँल्याउँदै बाह्य हस्तक्षेपबिना हरेक राष्ट्रलाई आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताएका थिए ।
आफ्ना आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म साँचो अर्थमा कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने बताउँदै प्रचण्डले सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित व्यवस्था बन्नुपर्नेमा जोड दिएका थिए ।


















