काठमाडौं । सङ्घीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधि सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा ऐन कार्यान्वयन तथा विधायीकी अन्तरसम्बन्धसम्बन्धी अनुगमन भ्रमणका विषयमा छलफल हुने र अन्य विविध विषय पनि कार्यसूचीमा राखिएको छ।
त्यस्तै, प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको २०औँ बैठक आज बिहान १० बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ ।
प्राप्त उक्त विधेयकको प्रस्तावनादेखि दफा ७ सम्म संशोधन प्रस्तावकर्तासहित छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।


















