Logo
Logo

नेपाल-भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्याउने मन्त्री पौडेलको प्रतिबद्धता


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको पुरानो सम्बन्धलाई पर्यटनमार्फत थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

भारतको नयाँदिल्लीमा बुधबार आयोजित ‘नेपाल कलिङ’ पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले भारतीय पर्यटकका लागि नेपाल सहज, सुरक्षित र आकर्षक गन्तव्य रहेको बताए । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या बढाउन दुवै देशबीच हवाई तथा स्थलमार्गको पहुँच सहज बनाउनुका साथै पर्यटन व्यवसायीबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले नेपाल र भारतबीचको सम्बन्ध कूटनीतिमा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको उल्लेख गरे । पर्यटनले दुई देशका नागरिकबीचको सम्बन्ध अझ नजिक बनाउनुका साथै आर्थिक अवसरसमेत विस्तार गर्ने उनले बताए ।

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक स्थल, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षणका क्षेत्र रहेको बताए । यी सम्भावनालाई भारतीय पर्यटकमाझ प्रभावकारी रूपमा पु¥याउन दुवै देशका सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत र उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल–भारतबीचको पर्यटन सम्बन्ध र साझा सांस्कृतिक सम्पदाको महत्त्वबारे धारणा राखेका थिए । उनीहरूले दुई देशबीच पर्यटन सहकार्यका सम्भावना विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

यसै क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन् । भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास, हवाई सम्पर्क विस्तार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । दुई देशबीच हवाई सम्पर्क सहज भए पर्यटक आवागमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश दिएका थिए । उनले नेपालका धार्मिक, आध्यात्मिक, प्राकृतिक, साहसिक, सांस्कृतिक तथा वेलनेस पर्यटनका सम्भावनाबारे प्रस्तुतीकरण गरेका थिए ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले सहभागीलाई स्वागत गरेको कार्यक्रममा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित विभिन्न देशका कूटनीतिक प्रतिनिधि, पर्यटन व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का प्रतिनिधिको सहभागिताले दुई देशका पर्यटन व्यवसायीबीच साझेदारी र नयाँ व्यावसायिक अवसर खोज्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमले नेपाललाई भारतीय पर्यटकमाझ थप परिचित गराउनुका साथै दुई देशबीचको सांस्कृतिक निकटतालाई पर्यटन र आर्थिक सहकार्यमा जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000