Logo
Logo

नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको बादलको निष्कर्ष (पूर्णपाठ)


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेका छन् । काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताएका हुन् ।

उनले पार्टीभित्रको विभाजन, संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई नियन्त्रण गर्न नसक्नु पनि पराजयका कारण रहेको उल्लेख गरे । अल्गोरिदमको भ्रम र डिप स्टेटको षड्यन्त्र चिर्न नसकेको उनको भनाइ छ । थापाले पार्टीले मुख्य प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्दा र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दा निर्वाचनमा विजय हासिल गरेको स्मरण गरे । नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने उनको टिप्पणी छ ।

उनले केन्द्रिय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको भन्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रममा भू–राजनीतिक शक्तिहरूबीचको संघर्ष तिब्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता संघर्ष चर्किरहेको बताए । लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य बढ्दै गएको तथा जनतामा व्याप्त भ्रम हट्दै आक्रोश बढिरहेको उनको विश्लेषण छ ।

उनले संसदीय, सडक र कानूनी संघर्षका माध्यमबाट फासिवादको प्रतिवाद गर्दै त्यसलाई पराजित गर्नुपर्ने बताए । संविधान र राष्ट्रिय स्वाभिमानको रक्षा तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न संघर्षका सबै मोर्चामा एकतावद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘विगतको निर्वाचनमा हामीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न सकेनौँ, आन्तरिक एकता कायम गर्न सकेनौँ र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकेनौँ । साथै, सामाजिक सञ्जालको भ्रम, कथित डीप स्टेटको षड्यन्त्र, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई नियन्त्रण गर्न सकेनौँ । जब हामीले आपसी सहकार्य र एकता कायम ग¥यौँ, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित ग¥यौँ र नेतृत्वको वरिपरि गोलबन्द भयौँ, तब सफलता प्राप्त गरेका छौँ । यी विगतका अनुभवबाट शिक्षा लिन आवश्यक छ । केन्द्रिय समितिले विगतको निर्वाचनको गम्भीर समीक्षा गरी निष्कर्ष निकालेको छ । अब ती निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । अहिले भू–राजनीतिक प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। पपुलिस्ट शक्तिहरूभित्रको सत्ता संघर्ष, लोकतान्त्रिक शक्तिहरूबीच बढ्दो सहकार्य र जनतामा देखिएको असन्तुष्टिले नयाँ राजनीतिक परिस्थिति निर्माण गरिरहेको छ । त्यसैले कानूनी, राजनीतिक, संसदीय र सडक संघर्षका सबै मोर्चाबाट लोकतान्त्रिक मूल्य, संविधान र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आवश्यक छ । यसबाटै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा अघि बढ्न सकिन्छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प छैन। आउनुहोस्, दृढतापूर्वक अघि बढौँ ।’

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, संघर्ष र विजयको विकल्प नभएको उल्लेख गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयको मार्गमा दृढतापूर्वक अघि बढ्न आह्वान गरे ।

पूर्णपाठ हेर्नुहोस्:

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि नयाँ सङ्कल्प गरौँ 
नेकपा (एमाले) तथा यस ऐतिहासिक राष्ट्रिय भेलाका आदरणीय अध्यक्ष कमरेड र यस विशेष कार्यक्रममा सहभागी सबै सहयोद्धा कमरेडहरूमा हार्दिक अभिवादन!
गत भदौ १० गते भोटेकोशी नदीको भयानक बाढीबाट ज्यान गुमाउनुभएका हजारौँ नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, राष्ट्र र जनताका लागि आफ्नो अमूल्य जीवन आहुति दिनुहुने महान् ज्ञात–अज्ञात सहिदहरूको सम्मानमा कोटिकोटि सलाम!
कमरेडहरू !
आज हामी अत्यन्तै असाधारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा यो महत्त्वपूर्ण राष्ट्रिय भेलामा एकत्रित भएका छौँ।
यो असाधारण परिस्थिति नयाँ विश्व व्यवस्था निर्माणका लागि सर्वत्र भइरहेको उथलपुथलका रूपमा प्रकट भइरहेको छ।
यो असाधारण परिस्थिति वैश्विक जलवायु परिवर्तनले निम्त्याएको भयानक त्रासदीबाट उजागर भइरहेको छ।
यो असाधारण परिस्थिति कृत्रिम मेधा (AI) ले उत्पन्न गर्न सक्ने जोखिमबाट प्रतिबिम्बित भइरहेको छ।

कमरेडहरू!
हालै सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले उपर्युक्त सङ्कटहरूको सामना र समाधान गर्न मुख्यतः निम्नानुसार ऐतिहासिक निर्णयहरू गरेको छ :
१. नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित गर्न पार्टीको पुनर्निर्माण गर्नुपर्ने,
२. राष्ट्रियता तथा लोकतन्त्रको स्थापनाका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने,
३. लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनहरूको तयारी गर्नुपर्ने,
४. संविधानको रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने,
५. जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने।

कमरेडहरू!

केन्द्रीय समितिद्वारा निर्धारित तथा निर्देशित उपर्युक्त लक्ष्यहरू हासिल गर्न र त्यसैको तयारीको एउटा अङ्गका रूपमा हामी आज यस ऐतिहासिक भेलामा उपस्थित भएका छौँ। त्यति मात्र होइन, यो भेला नयाँ आधारमा नयाँ एकता र नयाँ सङ्कल्पको ठोस अभिव्यक्ति पनि हो।म यो भव्य भेलाप्रति आफ्नो दृढ ऐक्यबद्धता प्रकट गर्दछु। यसको पूर्ण सफलताको कामना गर्दछु।

कमरेडहरू!
केन्द्रीय समितिका उपर्युक्त निष्कर्ष तथा निर्णयहरूबारे समग्रतामा आदरणीय अध्यक्ष कमरेडले प्रकाश पार्नुहुनेछ। साथै, अन्य कमरेडहरूले पनि आ–आफ्ना धारणा राख्नुहुनेछ।

संसदीय दलको मुख्य जिम्मेवारीमा रहेको नाताले म आगामी निर्वाचनको तयारीबारे संक्षिप्तमा आफ्नो धारणा राख्न चाहन्छु। तर आगामी निर्वाचनबारे चर्चा गर्नुभन्दा पहिले हामीले गत फागुनमा सम्पन्न निर्वाचनबारे पार्टीद्वारा गरिएको समीक्षामा ध्यान दिन जरुरी छ। त्यसको जगमा टेकेर नै हामीले चुनावको सही रणनीति तय गर्न सक्छौँ।

गत भदौमा केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकार तथा संसद्को विघटन असंवैधानिक थियो। सुशीला कार्कीको अन्तरिम सरकार पनि असंवैधानिक थियो। त्यसैले गत फागुनमा सम्पन्न संसद्को निर्वाचन पनि असामान्य तथा अस्वाभाविक थियो। परिणामतः लोकतन्त्रवादी शक्तिहरूको अकल्पनीय पराजय भयो। पपुलिस्टहरू जादुमय ढङ्गबाट विजयी भए। आज सरकार र संसद्मा उनीहरूको एकछत्र राज छ।

कमरेडहरू !
यो असामान्य परिस्थितिमा आगामी निर्वाचन हुन गइरहेको छ। फागुनको पुनरावृत्ति हुन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै आजको केन्द्रीय प्रश्न हो। घटनाक्रमहरूमा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष चुनावी वर्ष हुनेछ। संवैधानिक व्यवस्थाअनुसार वैशाखमा स्थानीय तहको, मङ्सिरमा प्रदेश सभाको, माघमा राष्ट्रिय सभाको तथा फागुनमा राष्ट्रपतिको निर्वाचन हुनेछ।

विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण सङ्घर्ष थियो। आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति सङ्घर्ष हुने निश्चित छ।

कमरेडहरू!
फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न आगामी निर्वाचनमा दुई तिहाइ स्थानमा विजय हासिल गर्नैपर्दछ। बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्छ।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभा दुवै सदनमा दुई तिहाइ सङ्ख्याले मात्र आफूअनुकूल संविधान संशोधन गर्न सम्भव हुन्छ। प्रतिनिधि सभामा अहिले पपुलिस्टहरूको लगभग दुई तिहाइ छ। एक–दुई जना यथास्थितिवादी सांसदहरूलाई खरिद गर्न उनीहरूलाई कुनै कठिनाइ हुने छैन।

राष्ट्रिय सभाको गठन स्थानीय तह तथा प्रदेश सभाको निर्वाचक मण्डलबाट हुन्छ। संविधानको प्रमाणीकरण सम्माननीय राष्ट्रपतिबाट हुने भएकाले त्यसका लागि आफूअनुकूलको पात्र जरुरी हुन्छ। यस अर्थमा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्।

कमरेडहरू!
अहिले स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा र राष्ट्रपति पदमा पपुलिस्टहरूको उपस्थिति शून्य छ। त्यहाँ देशभक्त तथा लोकतन्त्रवादी शक्तिहरूको एकछत्र वर्चस्व छ।
हामीले यो वर्चस्व कायम राख्न आफ्ना कमजोरीहरू पहिचान गरी तिनलाई यथाशीघ्र सच्याउन जरुरी छ। परस्पर तथा आन्तरिक एकतालाई सुदृढ गर्नुपर्दछ। यसका साथै हामी प्रतिद्वन्द्वीको षड्यन्त्रबारे अत्यन्तै सचेत हुनुपर्दछ।
चीनका महान् रणनीतिज्ञ सुन जुको सुप्रसिद्ध कथन, “आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ” लाई आत्मसात् गर्नुपर्दछ।

कमरेडहरू!
सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ। हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ। हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ।

जब हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध सहकार्य गरेका छौँ, तब हामीले जितेका छौँ। जब हामीले जनतासँग प्रत्यक्ष मितेरी गाँसेका छौँ, तब हामी विजयी बनेका छौँ। जब हामी नेतृत्वको वरिपरि गोलबन्द भएका छौँ, तब हामी हावी भएका छौँ। जब हामी नेतृत्वका विरुद्ध उभिएका छौँ, तब हामी दुवै हारेका छौँ।

कमरेडहरू!
केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको छ र सही निष्कर्ष निकालेको छ। अब फगत त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न जरुरी छ।
अहिले भूराजनीतिक शक्तिहरूबीच सङ्घर्ष तीव्र बन्दै गएको, पपुलिस्टहरूको आन्तरिक सत्ता सङ्घर्ष चर्किँदै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको, जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको र जनतामा आक्रोश चुलिँदै गएको लगायतका पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन्।

कमरेडहरू!
अन्त्यमा, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि एकता, सङ्घर्ष र विजयको कुनै विकल्प छैन। आउनुहोस्, विजयको मार्गमा दृढतापूर्वक अघि बढौँ!

रामबहादुर थापा 
उपाध्यक्ष
नेकपा (एमाले)  
२ मङ्सिर‚ २०८३ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000