Logo
Logo

जनताको सपनामा रास्वपाको रमिता


0
Shares

यतिबेला देशको राजनीतिक दृष्य हेर्दा जो कसैको पनि मनमा एउटै कुरा खेल्दो हो- ‘के सोचे थे जिन्दगीमा के-के भयो आज… ।’ यो गीत उदित नारायण झा र दीपा झाको स्वरमा रहेको नेपाली चलचित्र ‘माया नमार’को हो । तर, अहिले सरकारको ताल देख्दा यो गीत धेरैले सम्झन थालेका छन् ।

गत वर्ष भएको ऐतिहासिक जेनजी आन्दोलनले दशकौंसम्म देशलाई लुट्ने पुराना राजनीतिक दल र तिनका सिन्डिकेटलाई जरादेखि उखेलेर फ्याँकेको थियो । भविष्यको सुनौलो सपना बोकेका युवाहरूले सडकमा रगत बगाएर ल्याएको त्यो परिवर्तनले देशमा एउटा नयाँ आशा जगाएको थियो । पुराना दलहरूको घिनलाग्दो खेलबाट आजित बनेका जनताले, विशेष गरी नयाँ पुस्ताले, आफ्नो अन्तिम विश्वासको मत नयाँ विकल्पका रूपमा उदाएको पार्टी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि अन्धधुन्द ओइराए ।

रास्वपा सभापति रवि लामिछानेले चुनावी सभाहरूमा ठूला–ठूला स्वरमा उद्घोष गरेका थिए- ‘आमा, अब बालेनले देश बनाउँछ !’ युवाहरूको धड्कन बनेका बालेन र रास्वपाप्रति जनताको अथाह प्रेम र भरोसा थियो । जनतामा विश्वास थियो- ‘कोही नभए पनि, अब बालेन छन् ।’

यही अगाध आश र जेन्जी आन्दोलनको भावनाको सम्मान गर्दै प्रतिनिधिसभा निर्वाचनमा जनताले बिनाकुनै संकोच चुपचाप घण्टीमा छाप लगाए । र, रास्वपाले झन्डै दुई तिहाइ बहुमत नै पायो । सरकार निर्माणका क्रममा अरू कुनै दलले बाधा पु¥याउने कुरै थिएन, किनकि रास्वपालाई जनताले पुग्दो मत दिएको थियो ।

रास्वपाले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा एकल सरकार बनायो । जब बालेनको नेतृत्वमा सरकार बन्यो, तब जनताले ठाने– जेनजी आन्दोलनको मर्म अब पूरा हुन्छ र देशमा कायापलट हुन्छ । तर विडम्बना ! आज बालेन नेतृत्वको सरकार गठन भएको सात महिना बितिसक्दा पनि ‘हुने बिरुवाको चिल्लो पात’सम्म देखाउन सकेको छैन । सरकारको कार्यशैली र रास्वपाको यो ताल देख्दा फेरि एकपटक जनतामा फ्रस्टेसन बढ्न थालेको छ । ‘अब रास्वपा नै फुट्छ कि क्या हो?’ भन्ने आशङ्काका जन्मन थालेको छ ।

सरकारका कामकारबाही एकपछि अर्को गर्दै गम्भीर विवादमा फस्दै गएका छन् । जनताले सुशासनको अपेक्षा गरेका थिए, तर जुन तानाशाही र भ्रष्टाचारका विरुद्ध जेन्जीहरूले सडकमा ज्यानको बाजी लगाएका थिए, आज बालेन सरकार आफैँ ती कुराहरूको पुनरावृत्ति गर्दैछ कि भन्ने आभास हुन थालेको छ । सत्ताको बलमा जसलाई मन लाग्यो उसैलाई लछारपछार पार्ने प्रवृत्ति बढेको छ ।


विपक्षी राजनीतिक दलका नेताहरूमाथि धरपकड, व्यापारीहरूलाई तर्साउनेदेखि सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पठाएर समाचार लेखेकै भरमा पत्रकारहरूलाई पक्राउ गर्नेसम्मका काम भएका छन् ।


कुन दलका नेतालाई कहिले समात्ने भन्ने चर्चा चलाउने र न्यायलयमाथि नै प्रश्न उठाएर न्यायाधीशहरूमाथि छानबिनको तरबार झुन्ड्याउने प्रवृत्तिले सिङ्गो देशमा एकप्रकारको राज्य आतंक फैलाएको छ । जसले जेन्जी आन्दोलनकै मर्ममाथि ठाडो प्रहार भएको छ । यसकुरालाई सत्तारुढ दलले नै निको मानेका छैनन् । रास्वपा सभापति रविले समेत यसको विरोध गर्दै आएका छन् ।

तर, विडम्बनाको हद त तब पार हुन्छ जब सरकार आफ्नाहरूलाई जोगाउन लाग्छ । सम्पत्ति शुद्धीकरणको गम्भीर आरोप लागेका विवादास्पद व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको साझेदारी देखिएपछि जनमानसमा ठूलो प्रश्न उठ्यो । जब गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि छानबिन समिति बन्यो, त्यो प्रतिवेदनलाई पनि गुपचुप रूपमा थन्क्याइयो । यता, सांसद खगेन्द्र सुनारमाथि लागेका गम्भीर आरोपहरूमा पनि पार्टीको मौनताले धेरै कुरा बोलेको छ ।

रास्वपाका केही सांसदहरूको हर्कत हेर्दा त लाग्छ- उनीहरू सांसद हुन् कि कुनै अनुत्तीर्ण पात्रहरू ? न उनीहरूलाई आफ्नो पदीय जिम्मेवारी थाहा छ, न त संसद्को गरिमाको ज्ञान छ । कोही अझै पनि सामाजिक अभियान्ताकै शैलीमा सडक तताउँदै हिँडेका छन्, त कोही पत्रकारकै आवरणमा पुरानै धन्दामा रमाइरहेका छन् । जो जुन पेसाबाट राजनीतिमा आएका थिए, उनीहरूले आफ्नो त्यो पुरानो धङधङीलाई छाड्न सकेका छैनन् । चुनावमा रास्वपाले ठूला–ठूला स्वरमा नारा दिएको थियो- ‘जान्नेलाई छान्ने’। तर आज जनताले तितो सत्य महसुस गर्दैछन्- जान्नेलाई छान्ने होइन, यहाँ त केवल भ्रमको खेती मात्रै भएको रहेछ ।

धरातलीय यथार्थ के छ भने, आज आम जनताले सरकारको अनुभूतिसम्म गर्न पाएका छैनन् । जेनजी आन्दोलनका घाइते र परिवर्तनको सपना बोकेका युवाहरू आज पनि ओझेलमा छन् । यता, देशमा बाढीपीडितहरू बिचल्लीमा छन् । राहतको दाबी गर्ने सरकारले उनीहरूलाई त्रिपाल र गाँसबासका लागि समेत सडकमा आन्दोलन गर्न बाध्य पारेको छ । अर्कोतर्फ, अर्थतन्त्रको ऐना मानिने सेयर बजारले पनि यो सरकारलाई पत्याएको छैन, बालेन सरकार बनेदेखि नै घटेको घट्यै छ, लगानीकर्ताहरूको उठिबास लाग्ने अवस्था आएको छ ।

यी सबै नीतिगत असफलताका बीच, नेपाल प्रहरीको आईजीपी (प्रहरी महानिरीक्षक) परिवर्तनको प्रकरणले त रास्वपाभित्रको भित्री रडाको नै मच्चायो । प्रधानमन्त्री बालेन र पार्टी सभापति रविबीच सार्वजनिक रुपमै कटाक्ष चल्यो । सरकारका प्रवक्ता र पार्टीका प्रवक्ताका अभिव्यक्तिहरू नै आपसमा बाझिए, जसले जनतालाई थप अन्योलमा पा¥यो ।

आज जनता फेरि ती दिन सम्झिन विवश छन् जब उनीहरूले नयाँ आशाको दियो बालेका थिए । जेनजीहरूको रगत र पसिनाबाट भएको परिवर्तनमाथि यस्तै खेलबाड भइरह्यो भने जनताले यसलाई सहने छैनन् । सपना देखाइयो स्वर्णिम नेपालको, तर हात लाग्यो केवल राज्य आतंक, निराशा, दमन र आन्तरिक कलहको खाडल ।

जनताले रास्वपालाई ओइ¥याउनुको कारण थियो- अर्को एउटा शासक जन्माउन होइन, शासन गर्ने शैली नै बदल्न । बालेनलाई प्रधानमन्त्री बनाएका थिए, पुरानै सत्ताको अहंकार दोहो¥याउन होइन । जेनजी आन्दोलनमा बगेको रगत कुनै दलको सत्ता सुखका लागि थिएन, देशको मुहार फेर्नका लागि थियो । तर, आज सात महिनामै जनताको भरोसा डगमगाउन थालेको छ । आफ्नै पार्टीभित्र अविश्वास, सरकारमा विवाद र जनतामा निराशा बढ्दै जानु सामान्य कुरा होइन ।

सत्ता स्थायी हुँदैन, जनताको विश्वास पनि सधैँ एउटै रहँदैन । हिजो पुराना दललाई विकल्पविहीन ठानेर जनताले सडकमा विद्रोह गरेका थिए । आज नयाँ शक्तिलाई विकल्प ठानेर सत्तामा पु¥याएका छन् । तर, नयाँ अनुहारले मात्रै नयाँ संस्कारको ग्यारेन्टी गर्दैन । त्यसका लागि काम गर्ने शैली, सोच र व्यवहार पनि नयाँ हुनुपर्छ ।

त्यसैले बालेन र रास्वपाले बेलैमा बुझ्न जरुरी छ- जनताले दिएको बहुमत मनपरी गर्ने लाइसेन्स होइन, काम गरेर देखाउने जिम्मेवारी हो । आलोचना सुन्न नसक्ने, प्रश्नबाट भाग्ने र आफ्नालाई जोगाएर अरूलाई मात्रै कानुन देखाउने हो भने पुराना र नयाँबीचको फरक नै के रह्यो ? जनताले खोजेको परिवर्तन यही हो त ?

हिजो जनताले पुराना दललाई हटाएर नयाँलाई रोजेका थिए । भोलि यही जनताले अहिलेका नयाँलाई पनि पुरानैको अवस्थामा पु¥याउन सक्छ । त्यसैले जनताको सपना पूरा गरेर देखाउनुपर्छ । अन्यथा रास्वपाका लागि फेरि यही गीत गुञ्जाउने दिन नआउला भन्न सकिन्न– ‘के–के सोचे थे जिन्दगीमा, के-के भयो आज !’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000