Logo
Logo

दशौँ राष्ट्रिय खेलकुद सफल पार्न कर्णालीवासीलाई प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई नागरिकस्तरबाटै साथ र समर्थन गर्न कर्णालीवासीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव सफल पार्न सबैको सहयोगको अपेक्षा गरेका हुन् ।

सन्देशमा उल्लेख भएअनुसार दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ भने मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन् । कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुने यस प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू सहभागी हुनेछन् ।

कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भको आयोजना गर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

प्रतियोगिताको विगतको अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शाहले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदका अहिलेसम्म ९ वटा मात्र संस्करण हुनु दुःखद पक्ष रहेको बताएका छन् । अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्दै प्रतियोगिताको सफल आयोजनाको शुभकामना व्यक्त गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000