जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम शुक्रवार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेको थियो ।
निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यले दाबी पेस नगरेपछि प्रदेश सभाको सबैभन्दा ठुलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले गठबन्धनका साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नरहेकाले राजीनामा दिएका थिए ।
कांग्रेसको नेतृत्वमा बनेको सरकारबाट नेकपा एमालेले असोज २५ गते र नेपाली कम्युनिष्ट पार्टीले कात्तिक २० गते आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा गराउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव अल्पमतमा परेका थिए ।


















