
एजेन्सी । दक्षिणी नाइजेरियामा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको छ । उद्धार टोलीले पानीबाट शवहरू बाहिर निकालेको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा परेका ती सबै व्यक्तिहरू एक अन्तिम संस्कारमा सहभागी हुन जाँदै थिए ।
समाचार एजेन्सी एएफपीका अनुसार, नेसनल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (नेमा) का प्रवक्ता मन्जो एजेकिएलले घटनास्थलबाट हालसम्म २४ वटा शव बरामद भइसकेको जानकारी दिएका छन् । उनले खोजी तथा उद्धार कार्य अझै जारी रहेको बताएका छन् ।
‘लाइफ ज्याकेटबिनाको यात्रा बन्द हुनुपर्छ’
बायलसा राज्य सरकारले भविष्यमा यस्ता दुर्घटनाहरू रोक्नका लागि सुरक्षा नियमहरूको पालना गर्न डुङ्गा चालक र यात्रुहरूलाई अपिल गरेको छ ।
बायलसाकी सूचना आयुक्त एबियुवो कोकु–ओबियाईले शनिबार एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘डुङ्गामा क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा चलाउने, लापरबाही गर्ने र लाइफ ज्याकेटबिना यात्रा गर्ने कार्य बन्द हुनुपर्छ । कुनै पनि यात्राका लागि कसैको ज्यान जानु उचित होइन ।’
राष्ट्रपतिद्वारा दुःख व्यक्त
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले यस घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् । उनले ज्यान गुमाउनेहरू यस्तो परिस्थितिमा ज्यान गुमाउन लायक नभएको बताएका छन् ।
राष्ट्रपति टिनुबुले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, ‘यस दुर्घटनामा जसले ज्यान गुमाए, उनीहरू यसरी मर्न लायक थिएनन् ।’


















