Logo
Logo

तीन महाशक्तिशालीको भेटको तरंग


डा. दीपेश केसी

0
Shares


तेस्रो विश्वयुद्धको खतरा तत्काललाई टरेको आभास विश्वले गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ एउटै टेबुलमा ९० मिनेट बसेर चार बुँदे घोषणा जारी गरेसँगै विध्वंशकारी युद्ध टरेको हो ।

३ मंसिर २०८३ बिहीबारको चीनको सेनचेनमा एसिया प्यासिफिक आर्थिक सहयोग सम्मेलनको साइडलाइन बैठक यसकारण पनि ऐतिहासिक हो । तीनैजना नेताले आणविक युद्धले कुनै देशको जीत नहुने र आफूहरूबीचको टकरावले नयाँ शक्तिले लाभ लिइरहेको निष्कर्ष निकालेर विश्व व्यवस्थाको नयाँ परिस्थितिको सन्देश पनि दिएका छन् ।

शीतयुद्धपछि अमेरिकाको एकल वर्चश्व समाप्त भई बहुध्रुवीय विश्व व्यवस्थाको व्याख्या भइरहँदा पश्चिमा विज्ञहरूले यसलाई स्वीकार नगरे पनि ट्रम्पको भूमिकाको आलोचना गर्दै यथार्थलाई आत्मासात् गर्न बाध्य भएका छन् । विश्वकै तीन शक्तिशाली नेताहरूको बैठकमा पुटिनले सबैभन्दा ठूलो कूटनीतिक जीत निकालेको, सीले चीनको कूटनीतिक प्रभाव प्रदर्शन गरेको र ट्रम्पले आणविक मामलामा सहमति निकाल्न सकेको तर युक्रेन र इरानजस्ता मुख्य युद्धहरूमा कुनै ठोस प्रगति हासिल गर्न नसकेको विश्लेषण भएको छ ।

हरेक बैठक र कदममा लाभ र हानिमात्र हेर्ने महाशक्तिहरूको बैठकमा चारबुँदे घोषणा विश्व व्यवस्थादेखि भावी राजनीतिसम्म दूरगामी असर पर्ने निश्चित छ । बैठकपछिको घोषणामा विश्वको सुरक्षादेखि महत्वपूर्ण अन्तर्राष्ट्रिय संगठनको पुनःसंरचनाका विषयसम्म छन् ।

आणविक युद्धको खतरा टार्नेगरी भएको घोषणाले विश्व अर्थतन्त्रमा समेत असर परेको छ । विश्वको सुरक्षा सुदृढ गर्ने र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको पुनःसंरचनाको घोषणाले तरंग ल्याएको छ । भिटो प्रयोग गर्न सक्ने राष्ट्रसंघको स्थायी समिति सदस्य संख्या पाँचबाट बढाउने मुद्दा जोडतोडले उठ्न थालेको थियो । रुस यसको पक्षमा खुलेरै उभिएको छ । भारत आफ्नो शक्ति वृद्धिसँगै युएनमा स्थायी समिति सदस्य बन्न सक्रियता बढाइरहेको छ ।

आणविक शक्तिसम्पन्न, विश्वको सबैभन्दा बढी जनसंख्या र चौथो ठूलो अर्थतन्त्र भइसकेको भारतको पक्षमा रुस खुलेको छ । तथापि विश्वको शक्ति सन्तुलन र बलिया देशहरूको स्वार्थका कारण राष्ट्रसंघ सुरक्षा परिषद्मा पुनःसंरचना सहज छ्रैन । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकजस्ता संस्थामा अमेरिका र उसका निकट देशहरूको दबदबा कायमै छ । यसलाई बदल्न चीन र भारतजस्ता उदीयमान शक्तिहरू सक्रिय छन् ।

तीन महाशक्तिका नेताहरूको बैठकले आणविक युद्ध हुन नदिनेगरी घोषणाको चौथो बुँदामा आणविक युद्ध जित्न सकिने नहुने भन्दै आणविक खतरा संवादमार्फत घटाउन र आणविक हतियारको सम्भावित चुहावट या दुरुपयोग रोक्ने उल्लेख छ । उदीयमान नयाँ शक्तिहरूसम्म आणविक हतियार पुग्न नदिने रणनीति यो बुँदामा निहित देखिन्छ । साउदी अरब, इरानजस्ता शक्ति आणविक हतियार प्राप्त गर्न प्रयासरत छन् । अमेरिकाले साउदीसँग दसौँ अर्ब डलरको आणविक सम्झौता गरिसकेको छ । आणविक हतियारको महत्वाकांक्षा मध्यपूर्वका देशहरूले मात्र नभई अफ्रिकाका केही देशहरूले पनि राखिसकेका छन् । यसलाई रोक्न तीनवटै महाशक्ति सहमत भएको सन्देश प्रवाह भएको छ ।

विश्वमा बढ्दो ऊर्जा संकटले अर्थतन्त्रमा निकै ठूलो असर पारेको छ । युक्रेन र इरान युद्धले कच्चा तेल र ग्यासको आपूर्तिमा असरमात्र पारेको छैन मूल्यवृद्धि अचाक्ली भएको छ । यसको सबैभन्दा ठूलो लाभ अमेरिका र रुस दुवैले लिएका छन् । चीन र भारतले सुपथ मूल्यमा तेल र ग्यास किनेर अर्थतन्त्र उकासिरहेका छन् ।

युद्ध र ऊर्जाको विषय एकअर्कामा अन्तर्निहित भइरहेका छन् । ट्रम्पले इरान युद्धबाट तेलको मूल्यवृद्धि भई ठूलो लाभ भएको खुलेरै बोले । हतियार बिक्रीसम्बन्धी सम्झौताहरू गरे साउदी, युएईलगायत खाडी देशहरूसँग । शक्तिराष्ट्रहरू आर्थिक र सामरिक लाभका लागि पनि युद्ध गर्छन् भन्ने उदाहरण हो यो । युक्रेन युद्धबाट रुसले नोक्सान कम फाइदा बढी गरिरहेको छ । कच्चा तेल र खाद्यान्नको मूल्य बढ्दा रुसले अर्थतन्त्र उकासिरहेको छ । उसको अर्थतन्त्र विगतमा भन्दा मोटाइरहेको छ ।

युक्रेनका भूभागहरू कब्जा गरी सीमा विस्तारमात्र गरिरहेको छैन, सामरिक लाभ र प्रभाव पनि बढाइरहेको छ । एकातर्फ युक्रेनलाई अमेरिका हतियार दिइरहेको छ, अर्कातर्फ रुससँग सम्बन्ध मजबुत बनाउँदै लगेको छ । ट्रम्पले पुटिनलाई भेट्दा हाँसीमज्जा गरेको दृश्य सार्वजनिक गराएर विश्वलाई महाशक्तिहरू मिलिसकेको सन्देश दिए । उनले पुटिनलाई पुरानो र परममित्र भने ।

भेनेजुएलामा मध्यराति कमाण्डो आक्रममणबाट मदुरोलाई उठाएर लगे जसरी इरान युद्ध केही दिनमै समाप्त गर्छु भन्ने ट्रम्पको महत्वाकांक्षा सिंहको सवार बन्न पुगेको छ । युक्रेन युद्ध युरोपेली देशहरूका लागि गलपासो बन्दै गएको छ । भारतमा अमेरिकासहित पश्चिमाहरूको छद्म प्रहार भुत्ते सावित भयो । त्यसैले ट्रम्प अन्य महाशक्तिदेखि क्षेत्रीय शक्तिहरूसँग जुधेर नभई मिलेर जाने रणनीतिमा झरेको देखिँदैछ । क्वाड बैठकका दौरान उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कठिन, टाठो र आफ्ना असल मित्र भने । भारतले हासिल गरिरहेको तीव्र आर्थिक वृद्धिदरको प्रशंशा गरे । जबकि भारतसँग अमेरिकाको तिक्तताहरू छताछुल्ल भइरहेका थिए । रुसको तेल किनेको भन्दै टारिफ बढाएको घटना पुरानो भएको छैन । जबकि अमेरिका आफैँ रुससँग तेल खरिद गर्न थालेको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले विगतमै भारतले कोसँग तेल किन्ने नकिन्ने आफ्नो लाभ हेरेर निर्धारण गर्छ भनी जवाफ दिएका थिए । भारतको हतियार पश्चिमा देशहरूविरुद्ध प्रयोग नभएको तर पश्चिमा हतियार आफूहरूविरुद्ध प्रयोग भएको विषय उठाएका थिए । यसरी भारतले अमेरिकालगायत पश्चिमा दबाबहरू थेगेको थियो । तीन महाशक्तिको बैठकअघि ट्रम्पले मोदीलाई भेटेका थिए । यी भेटहरूको एकअर्कामा सम्बन्धहरू पक्कै होलान् । ट्रम्प, पुटिन र सीको संयुक्त बैठकले तीन महाशक्तिबीचको टकराव कम भएको सन्देश गएको छ । सम्भावित विश्वयुद्धमात्र टारेको छैन, विश्व व्यवस्था नयाँ चरणमा पुगेको युगीन परिवर्तनलाई प्रमाणित गरिदिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000