
काठमाडौं । कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले पाएका छन् । कोशीको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि राष्ट्रपति रामचन्द्र पौडेलले मधेशका प्रमुखलाई कोशीको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।
यसअघिका प्रदेश प्रमुख परशुराम खापुङ ५ वर्षे कार्यकाल पूरा गरी बिदाइ भएसँगै कोशीमा यो पद रिक्त थियो । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम राष्ट्रपतिले कार्यभार तोकेको शीतलनिवासले जनाएको छ ।


















