Logo
Logo

भीम रावलको आरोप- सत्ताको लागि बालेन पनि भारतसँग लम्पसार परे


0
Shares


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह भारतसँग लम्पसार परेको आरोप लगाएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बालेन्द्र साह पनि पुरानाहरुजस्तै सत्ताको लागि भारतसँग लम्पसार परेको आरोप लगाएका हुन्।

उनले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने विषय आपत्तिजनक भएको पनि बताए । नेपालको विकासको खाका नेपालकै आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उनको भनाई छ । भारतबाट प्रश्तावित साझेदारीको पुनःपरिकल्पना सम्बन्धी दस्तावेजमा नेपालको सार्वभौमसत्तामाथी ठाडो हस्तक्षेप भएको उनको दाबी छ । नेता रावलले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे ।

प्रधानमन्त्री साहको भारत भ्रमणपछि भारतले प्रतिवेदनको औचित्य समाप्त भएको घोषणा गरेको उल्लेख गर्दै उनले नेपाल सरकारको पनि धाराणा सार्वजानिक हुनुपर्ने बताए । उनले अब सरकारले ईपीजी प्रतिवेदन गोप्य राख्न नहुनेमा जोड दिए । दुई देशको सहमतिका आधारमा गठन भएको प्रबुद्ध व्यक्ति समूहले दुई वर्षसम्म ठूलो रकम खर्च गरेर तयार पारेको प्रतिवेदन नेपाली जनताले थाहा पाउनुपर्ने उनको भनाई छ ।

नेता रावलले नेपालतर्फका समूह संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरिसकेको बताए । तर सरकारले प्रतिवेदन सार्वजानिक गर्न हिच्किचाएको उनको आरोप छ । प्रतिवेदन सार्वजनिक नगर्नुका पछाडि राजनीतिक स्वार्थ रहेको हुनसक्ने उहाँको आशंका छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको विषयलाई ओझेलमा पार्न ईपीजी प्रतिवेदनलाई प्रयोग गरिएको नेता रावलले आरोप लगाए ।

उनले भने, ‘दुई देशका सहमतिबाट छानिएका व्यक्तिले २ वर्षसम्म निकै नै ठूलो रकम खर्च गरेर तयार गरेको यो प्रतिवेदनमा के कुरा लेखिएको छ ? नेपाली जनताले थाहा पाउनुपर्छ । नेपालको तर्फका प्रबुद्ध व्यक्ति समूहका संयोजक डाक्टर भेषबहादुर थापाले केही दिन अगाडि परराष्ट्रमन्त्रीज्यूलाई प्रतिवेदन बुझाइसक्नु भएको छ । ‘अब ढिलो भयो, यो म प्रतिवेदन मैले राखिरहनु उचित भएन । तपाईंले राख्नु पर्यो’ भनेर उहाँले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिसकेपछि परराष्ट्रमन्त्रीज्यूले ‘यो मैले राखीमात्र दिएको हुँ, ताल्चा लगाएको छ, यसमा ।’ भन्नुभयो । उहाँले हेर्न नहुने चीज जस्तो गर्नुभयो । अब म प्रश्न गर्न चाहन्छु । भारतका विदेश सचिवले सार्वजनिक रूपमा दुई देशको बीचको सहमतिलाई तोड्दै अब प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनको औचित्य छैन भन्ने कुरा उहाँले भन्नुभएपछि नेपालको परराष्ट्रमन्त्रीको हैसियतले त्यो ताल्चा खोलेर ‘हेर नेपाली जनता हो, यो प्रतिवेदन हामीले यस्तो तयार गरेका छौँ’ भन्ने कुरा भन्दिने कि नभन्दिने ? यदि तपाईंहरूले यसलाई लुकाउनुहुन्छ भने सबै नेपाली जनताले सोध्नुपर्ने हुन्छ, १९५० को सन्धि पुनरावलोकन गर्न मनमोहनजीको सहमतिलाई ओझेल पार्नको लागि, त्यसलाई छोप्नको लागि प्रबुद्ध व्यक्ति समूहको पोको लिनुभयो बाबुरामजीले, तर त्यो प्रबुद्ध व्यक्तिको समूहको पोको केपी ओलीजीले गठन गरेको समितिले भारतले खोजे जस्तो नभएपछि अहिले त्यसलाई अहिले खत्तम पार्नको लागि कथित साझेदारीको पुनः परिकल्पना भनेर भारतको दिल्लीबाट घोषणा गरियो । कुनैपनि स्वतन्त्र देशले अर्काको देशमा गएर नेपालको विकास कसरी हुन सक्छ भन्ने दस्ताबेजको घोषणा गर्दैन । प्रधामन्त्रीले अर्काको देशले तयार गरेको पिएम शक्ति भन्ने कार्यक्रममा सम्झौता गरेर आउनुभयो । भारतले आफ्नो भौतिक संरचना आफ्ना भौतिक पूर्वाधार कसरी बनाउनेदेखि आफ्नो राष्ट्रको कसरी विकास गर्ने भनेर पिएम गतिशक्ति कार्यक्रम बनाएको छ । साझेदारीको लागि पुनः परिकल्पना भनेको दस्ताबेजमा भारतको पिएम गतिशक्ति लाई नेपालले कार्यान्वयन गर्न सक्ने भनेर लेखेको छ । यो के हो ? अब नेपालका राजनीतिक दलहरूलाई भन्न चाहन्छु, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी, उहाँहरूले कतै बोल्नुभयो कि नाइँ ? त्यसका सभापतिज्यूले यसको अध्ययन गर्नुभयो कि होइन ? नेकपा एमालेका अध्यक्षज्यूलाई भन्न चाहन्छु, उहाँको पालामा प्रबुद्ध व्यक्ति समूहको गठन भयो । त्यो भारतले अब औचित्य सक्यो भन्दाखेरि उहाँको भनाइ के छ ? नेपाली जनतालाई भन्नुपर्ने हो कि नाइँ ?’ जसरी विगतमा कतिपय व्यक्तिले आफ्नो सत्ता स्वार्थको लागि कतिपय विषयमा लम्पसार परेका हुन्, यसमा पनि त्यही प्रवृत्तिको निरन्तरता देखिन्छ ।’

उनले नेपाल–भारत सम्बन्धमा देखिएका असमान सन्धि तथा सम्झौताबारे सरकारको स्पष्ट धारणा सार्वजानिक गर्न पनि माग गरे ।
नेता रावलले ईपीजी प्रतिवेदन र नेपाल–भारत सम्बन्धका पछिल्ला घटनाक्रमबारे प्रमुख राजनीतिक दलहरूको मौनतामाथि पनि प्रश्न उठाए । नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपाका नेताहरूले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्ने उनको भनाई छ ।

विशेषगरी ईपीजी गठन भएको समयमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार रहेको स्मरण गराउँदै उनले भारतले प्रतिवेदनको औचित्य समाप्त भएको बताउँदा एमाले नेतृत्वको धारणा के हो भन्दै प्रश्न गरे । त्यस्तै, नेकपाका नेताहरूले विगतमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपाली भूभाग तथा असमान सन्धि सम्झौताका विषय उठाएको स्मरण गराउँदै अहिलेका घटनाक्रममा पनि स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ । विगतमा सत्ता स्वार्थका लागि राष्ट्रिय महत्वका विषयमा सम्झौता गर्ने प्रवृत्तिकै निरन्तरता अहिले पनि देखिएको उनको आरोप छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000