काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिका तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरो तथा विभिन्न जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अप्रेसन डिजिटल स्वाभिमान’ अन्तर्गत उनीहरूलाई पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका-१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका-९ का ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दी मङ्गला गाउँपालिका-५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर र उदयपुर चौदण्डीगढी नगरपालिका-९ का २५ वर्षीय सुवास कार्की रहेका छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिका-१० बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा १५ र १६ वर्षका दुई बालक पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार आशिषले नक्कली फेसबुक खाता बनाएर नाबालिकाका अश्लील तस्बिर तथा भिडियो आफन्त र साथीहरूलाई पठाएको, रोहितले इमोमार्फत अश्लील तथा अपमानजनक सन्देश पठाएको र महमद फेसलले प्रेम सम्बन्ध टुटेपछि पीडितका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, विमलले नक्कली टिकटक खाताबाट गोप्य तस्बिर तथा भिडियो प्रसारण गरेको, दिलबहादुरले फेसबुकमा अश्लील गालीगलौज गरेको, सुवासले नक्कली फेसबुक खाताबाट अश्लील सामग्री पठाएर ब्ल्याकमेलिङ गरेको र चिरञ्जीवीले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरेको आरोप छ ।
पक्राउ परेका दुई बालकले पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिँदै रकम मागेको प्रहरीले जनाएको छ । उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















