Logo
Logo

चीनमा छाडिएका रासायनिक हतियार नष्ट गर्न जापानलाई चीनको आग्रह


0
Shares

काठमाडौं । दोस्रो विश्वयुद्धका क्रममा चीनमा छाडिएका रासायनिक हतियार नष्ट गर्ने काम तीव्र बनाउन चीनले जापानलाई आग्रह गरेको छ । नेदरल्याण्ड्सको हेगमा बुधवार आयोजित रासायनिक हतियार निषेध महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (सीएसपी–३१) मा चीनले जापानलाई आफ्नो दायित्व पूरा गर्न र हतियार नष्ट गर्ने प्रक्रिया तीव्र बनाउन आग्रह गरेको हो ।

The current image has no alternative text. The file name is: japnis-wapan.jpg

चिनियाँ प्रतिनिधिमण्डलले ‘चीनको भूभागमा जापानद्वारा छाडिएका रासायनिक हतियार नष्ट गर्ने वर्तमान अवस्था र चुनौती’ विषयमा छुट्टै कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ४० भन्दा बढी देशका एक सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलका अनुसार जापानले चीनमा छाडिएका रासायनिक हतियार नष्ट गर्ने समयसीमा चारपटक उल्लङ्घन गरिसकेको छ । सन् २०२२ मा स्वीकृत पछिल्लो योजनाको समयसीमा सन् २०२७ मा समाप्त हुँदै छ । 

यसपटक पनि निर्धारित समयभित्र काम सम्पन्न नभए जापानले पाँचौँपटक समयसीमा गुमाउने जोखिम रहेको चीनको भनाइ छ । चीनले यस वर्ष जापानले उक्त हतियार नष्ट गर्ने कार्यका लागि छुट्याएको बजेट सन् २०२५ को तुलनामा २२ प्रतिशतले घटाएको दाबीसमेत गरेको छ । तर सोही अवधिमा जापानको रक्षा बजेट भने बढिरहेको चीनले औँल्याएको छ । रासायनिक हतियार निषेध संगठन ९ओपीसीडब्ल्यू० मा चीनका स्थायी प्रतिनिधि सेन बोले सम्मेलनमा भएको छलफलले जापानले छाडेका रासायनिक हतियार नष्ट गर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको साझा चासो प्रतिबिम्बित गरेको बताए । 

उनले सन् २०२७ को समयसीमा पनि गुम्न सक्ने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढिरहेको उल्लेख गर्दै हतियार छाड्ने जिम्मेवार राष्ट्रका रूपमा जापानले महासन्धिअन्तर्गतका दायित्व पूरा गर्नुपर्ने बताए । सेनले जापानलाई ऐतिहासिक, राजनीतिक र कानुनी जिम्मेवारीप्रति गम्भीर तथा जिम्मेवार बन्न आग्रह गरे । युद्धकालीन अपराधलाई ढाकछोप गर्ने वा इतिहास पुनर्लेखन गर्ने कुनै पनि प्रयास चीन र अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य नहुने उनको भनाइ थियो । उनले हतियार नष्ट गर्ने काममा पर्याप्त जनशक्ति, प्रविधि र आर्थिक स्रोत परिचालन गर्न जापानलाई आग्रह गरे । साथै, हतियार गाडिएका स्थानबारे सही सूचना उपलब्ध गराउन, उत्खनन तथा संकलन प्रक्रियालाई प्रभावकारी बनाउन र प्रदूषित माटो तथा पानीको उपचारको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । 

यसैगरी, रासायनिक हतियार निषेध सङ्गठनमा रुसका स्थायी प्रतिनिधि भ्लादिमिर ताराब्रिनले दोस्रो विश्वयुद्धका क्रममा जापानले चीनमा छाडेका रासायनिक हतियार नष्ट गर्ने विषयमा रुसको धारणा स्पष्ट रहेको बताए । उनले यो जापानको इच्छामा निर्भर रहने विषय वा परोपकारी कार्य नभई दोस्रो विश्वयुद्धको विरासत अन्त्य गर्ने जापानको कानुनी तथा नैतिक दायित्व भएको उल्लेख गरे । रासायनिक हतियार निषेध सङ्गठनकी महानिर्देशक साब्रिना डालाफियोरले पनि चीनमा जापानले छाडेका रासायनिक हतियार खोजी गरी नष्ट गर्नु विश्वभरबाट रासायनिक हतियार पूर्ण रूपमा उन्मूलन गर्ने अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्यको महत्त्वपूर्ण हिस्सा भएको बताइन् । यो कठिन कार्य भए पनि जसरी पनि सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000