
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू विरोधका कार्यक्रममा उत्रिएका छन् । सरोकारवालासँग छलफल नगरी तथा उनीहरूका सुझाव बेवास्ता गर्दै जबरजस्ती ल्याइएको ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
सुधारका नाममा विद्यमान संस्थालाई कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम अस्वीकार्य रहेको नास्ट परिवारको भनाइ छ ।
आन्दोलनरत कर्मचारीहरूले १२ बुँदे माग अघि सारेका छन् । उनीहरूले अध्यादेश र नियमावली तत्काल खारेज गर्नुपर्ने, त्यसका नाममा भइरहेको मनपरी निर्णय र नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, संस्थामा मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप रोक्नुपर्ने, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति निर्माण गर्नुपर्ने, सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने तथा साविकको ऐनअन्तर्गत नियुक्त सम्पूर्ण कर्मचारीको सेवासुरक्षा सुनिश्चित गर्नुपर्ने माग उनीहरूको छ ।
कर्मचारीहरूले धम्क्याउने, थर्काउने र मनोबल गिराउने प्रवृत्ति अन्त्य गरी विश्वासका साथ सहकार्य गर्नुपर्ने बताएका छन् । देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य पार्नुको सट्टा स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिनुपर्ने उनीहरूको माग छ ।
नयाँ संरचनामा अनावश्यक खर्च गर्नुभन्दा नास्टका प्रयोगशाला सबल बनाउन र अनुसन्धान बजेट बढाउनुपर्ने, संस्थाको स्वायत्तता सुनिश्चित गर्दै निर्धक्क अनुसन्धान गर्ने वातावरण बनाउनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् ।
त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ । ‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ भन्ने नारासहित कर्मचारीहरूले माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने जनाएका छन् ।



















