Logo
Logo

निक्षेप बढ्यो, कर्जा सुस्त : बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैङ्क


0
Shares

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । लगानीयोग्य रकम पर्याप्त हुँदासमेत कर्जाको माग विस्तार हुन नसकेपछि नेपाल राष्ट्र बैङ्कले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

The current image has no alternative text. The file name is: Rastra-Bank.jpg

केन्द्रीय बैङ्कले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन शुक्रवार बोलकबोल गर्ने भएको हो । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले मङ्सिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ । 

राष्ट्र बैङ्कले न्युनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरेको छ । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ । सहभागी बैङ्क तथा वित्तीय संस्थाले एउटै वा फरक-फरक ब्याजदरमा एकभन्दा बढी बोल पेस गर्न सक्नेछन् । सङ्कलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी हुनेछ । यस उपकरणमा राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् । 

राष्ट्र बैङ्कको पछिल्लो तथ्यांकअनुसार बैङ्क तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ । निक्षेप संकलन र कर्जा विस्तारबीचको यही अन्तरले बैङ्किङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैङ्कमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैङ्क तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । वाणिज्य बैङ्कहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैङ्क तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ८० अर्ब रुपैयाँ छ ।

बैङ्किङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.१६ प्रतिशतमा सीमित छ । नियामकीय व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने भएपनि कर्जाको माग कमजोर हुँदा उपलब्ध स्रोत पूर्ण रूपमा परिचालन हुन सकेको छैन । यसले बैङ्कहरूमा थप कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ ।

१३ खर्ब ७६ अर्ब रुपैयाँ मौद्रिक उपकरणमा 

बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । चालु आर्थिक वर्षको मङ्सिर ११ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैङ्कका ऋणपत्र, निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरी कुल १३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको रकम रहेको छ । त्यसमध्ये राष्ट्र बैङ्क ऋणपत्रमा ४ खर्ब रुपैयाँ, निक्षेप संकलन उपकरणमा ८ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामा १ खर्ब ४० अर्ब ३० करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा राष्ट्र बैङ्कले सामान्य निक्षेप संकलन उपकरण २९ पटक प्रयोग गरी १ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधा ८० पटक प्रयोग गर्दै ९ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तरलता प्रवाह गर्ने रिपो, सोझै खरिद, ओभरनाइट रिपो तथा स्थायी तरलता सुविधामार्फत भने यस अवधिमा कारोबार भएको छैन । बैङ्किङ प्रणालीमा रकम अभाव नभई अधिक तरलता रहेकाले राष्ट्र बैङ्कले बजारबाट रकम खिच्ने उपकरणलाई प्राथमिकता दिएको हो ।

बैङ्किङ प्रणालीमा अधिक तरलता रहेसँगै अन्तरबैंक ब्याजदरसमेत घटेर २.७५ प्रतिशतमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप पर्याप्त भए पनि कर्जा प्रवाह कमजोर रहँदा बैंकहरूबीचको अल्पकालीन सापटीको ब्याजदर न्युन भएको छ । बैङ्कमा लगानीयोग्य रकम थुप्रिने र कर्जाको माग कमजोर रहने अवस्थाले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कलाई झनै चुनौती थपेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000