
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ आज गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमनमा जाने भएका छन् ।
मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतमा पुगेर ऊर्जा, सिँचाइ तथा बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
अनुगमनका क्रममा पहिरोबाट भएको क्षति, नदी तथा खोलामा तटबन्ध निर्माण, सिँचाइ आयोजनाका समस्या र जलविद्युत् आयोजनाको अवस्थाबारे स्थलगत निरीक्षण गरिनेछ । कास्कीमा पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्ने तथा स्याङ्जामा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको समीक्षा गर्ने कार्यक्रम छ ।
विपद्बाट प्रभावित नागरिकका समस्या प्रत्यक्ष रूपमा बुझ्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने र सम्भावित जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ अनुगमनमा जान लागेका हुन् ।
स्थलगत अनुगमनबाट प्राप्त सुझाव र जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन योजनाबारे पहल गरिने जनाइएको छ ।


















