
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा मंसिर ३ गतेदेखि १४ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणका अनुसार मंसिर ३, ६ र ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, मंसिर ४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म र मंसिर ५ गते कालिमाटी तथा बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
यसैगरी, मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए, मंसिर ९ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ तथा मंसिर १२ गते सोही फिडरअन्तर्गत ईडीटीआर ८ए र ईडीटीआर ८ क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ ।
त्यस्तै, मंसिर १० र १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउण्डदेखि कालोपुलसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । मंसिर ११ गते बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित समयतालिका रद्द हुन सक्ने स्पष्ट पारेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।



















