Logo
Logo

स्टारडमले चिनायो, कर्मले स्थापित हुने अनमोलको चाहना


सिर्जना दुवाल

0
Shares

सिने नायक अनमोल केसी व्यस्त हुने कलाकारमध्येमै पर्छन् । झन् यतिबेला त उनको व्यस्तता अझ बढेको छ । उनले अभिनय गरेको चलचित्र ‘बाटुलो जून’ सिनेमा घरहरूमा छ । प्रचारप्रसार व्यस्त केसी स्वयं सिने समाचारको हेडलाइनमा छन् । प्रचारप्रसारमै रहेका बेला संक्षिप्त टेलिफोन संवादमा उनले भने, ‘दर्शकहरूको माया र रेस्पोन्सले अरु राम्रा चलचित्रमा मिहिनेत गर्ने ऊर्जा मिलिरहेको छ ।’

अनमोल चर्चित अभिनेता भुवक केसीका छोरा हुन् । पारिवारिक विरासतमा चललिचत्र क्षेत्रमा प्रवेश पाएका अनमोलका लागि यो अवसर र चुनौती दुवै थियो । उनले यसलाई गतिलो अवसर बनाए । दर्शकमाझ आफ्नो बेग्लै परिचय बनाउन सके । झण्डै १३ वर्षअघि चलचित्र होस्टेलबाट उनी नायकका रूपमा डेब्यू गरेका थिए । त्यसपछि जेरी, ड्रिम्स, गाजलु, क्याप्टेन, ए मेरो हजुर आदि सिनेमामा अभिनय गरेर युवापुस्तामा आकर्षण बटुलेका अनमोल कृबाट त राष्ट्रिय चलचित्र पुरस्कार नै पाए । अहिले बाटुलो जूनले उनलाई थप माइलेज दिइरहेको छ ।

‘म भुवन केसीको छोरो भनेर चिनिँदा बुबाको सम्मान भएको देखेर खुसी छ,’ उनी भन्छन्, ‘तर अनमोल केसीको रूपमा स्थापित हुने रहर पनि उत्तिकै छ । काम र पहिचानसहित दर्शकमाझ चिनिन खोज्नु हरेक कलाकारको भित्री चाहना हुन्छ ।’

छोटो संवादमै अनमोल थप खुले । उनले भने, मलाई दर्शकले भुवन केसीको छोराको रूपमा मात्रै होइन, अनमोल केसीकै नामले चिनुन् । बुबासँगको नाम जोडिँदा मनमा अलिकति नमज्जा लाग्छ ।’ उनी भन्दै गए, हरेक व्यक्तिको चाहना हुन्छ, आफ्नो परिचय आफ्नै कर्मले बनोस् ।’ सायद अनमोलको यो चाहना आत्मपहिचानको खोजी होला ।

खासमा अनमोल केसीको स्टारडम नेपाली सिने क्षेत्रमा सधैँ चर्चाको विषय बन्दै आएको छ । दर्शकको क्रेज, चलचित्रको बक्स अफिस ओपनिङ र हलमा देखिने भीडले उनको लोकप्रियताको झलक दिइरहन्छ । विशेषगरी युवा पुस्तामाझ उनको बलियो फ्यान फलोइङ छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’को प्रचारप्रसार र हल भिजिटका क्रममा देखिएको दर्शकको बाक्लो उपस्थितिले पनि उनको स्टारडमलाई फेरि चर्चामा ल्याएको छ । प्रदर्शनको पहिलो दिनमै एक करोड २० लाख रुपैयाँको व्यापार र ३६ हजारभन्दा बढी टिकट बिक्रीको विवरणले दर्शकमाझ उनको आकर्षण कति बलियो छ भन्ने देखाउँछ ।

चलचित्र क्षेत्रमा सुरुवाती सफलतापछि लगातार धेरै चलचित्रमा देखिनुभन्दा वर्षमा थोरै तर छानिएका चलचित्रमा मात्र काम गर्ने उनको रणनीतिले पनि दर्शकमाझ उनको प्रतीक्षालाई कायम राख्न मद्दत गरेको छ । पर्दामा उनको उपस्थिति र नयाँ चलचित्रप्रतिको दर्शकीय उत्सुकता त्यसैको एउटा परिणाम हो ।

अनमोलको जीवनलाई स्टारडम र व्यावसायिक सफलताको कोणबाटमात्र हेर्नु पर्याप्त हुँदैन । पर्दामा हजारौँ दर्शकको मन जितिरहेका यी अभिनेताको जीवनमा कोभिड महामारी एउटा अप्रत्यासित मोड बनेर आयो । संसार घरभित्र सीमित भएको त्यो समय अनमोलका लागि आफूभित्र हेर्ने अवसर बन्यो । पहिले पढाइ र पुस्तकमा खासै रुचि नराख्ने उनी त्यसपछि अध्यात्म र दर्शनतर्फ आकर्षित हुन थाले । गुरुहरूको संगतमा रहेर जीवन बुझ्ने प्रयास गरे । भागवद्गीता, रामायणलगायत हिन्दू धर्मग्रन्थहरूको अध्ययन गर्न थाले । पुस्तकका पानामा भेटिएका विचारलाई पढेर मात्र छाडेनन्, दैनिक जीवनमा आत्मसात् गर्ने प्रयास पनि गरिरहेको उनी बताउँछन् ।

अहिले उनी दिनमा कम्तीमा २० पृष्ठ पुस्तक पढ्ने बानी बसाल्न अरूलाई पनि प्रेरित गर्छन् । आफूलाई मन पर्ने पुस्तक पढ्न दैनिक थोरै समय छुट्याउन सके त्यसले सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उनको विश्वास छ । पुस्तक पढाइलाई उनी ज्ञान प्राप्तिको माध्यममात्र मान्दैनन्, मानसिक शान्ति र आत्मसंवादको एउटा अभ्यासका रूपमा पनि लिन्छन् । व्यस्तता र सार्वजनिक जीवनको चापबीच पुस्तकसँग बिताएको समय उनका लागि मानसिक थेरापीजस्तै बनेको छ ।

उनको अभिनय यात्रामा पनि आफूलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास देखिन्छ । यसअघि आधुनिक र सहरी परिवेशका पात्रमा बढी देखिएका अनमोल ‘बाटुलो जून’मा भने चार दशकअघिको ग्रामीण परिवेशका ‘काजी’ बनेका छन् । सहरमा हुर्किएका उनका लागि गाउँको जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने यो फरक अवसर पनि हो । उनी भन्छन्, ‘स्टारडमले मानिसलाई चिनाउँछ, तर उसको वास्तविक परिचय समय, सोच र कर्मले बनाउँछ । हिरो हुनु पर्दामा देखिने परिचय हो, असल कलाकार बन्न निरन्तरको साधना जरुरी हुन्छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000