काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले गर्ने भएका छन् । आगामी मङ्सिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले शनिवार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उद्घाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएका हुन् ।
प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मङ्सिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी छन् ।
३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार पौडी र शारीरिक सुगठनसहितका खेलबाट ६६ पदकको टुङ्गो लाग्नेछ ।



















