Logo
Logo

सर्लाहीमा धारिलो हतियार प्रहार गरी लुटपाट


0
Shares

सर्लाहीको लालबन्दीमा सिटी डिपार्टमेन्ट स्टोरका एक कर्मचारीमाथि धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटिएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी केन्द्र नजिकै गएराति भएको आक्रमणमा लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सुजित सिंह घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । सिंहको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिंह हरिवन बजार क्षेत्रका पसलबाट रकम संकलन गरेर घर फर्किंदै गर्दा राति करिब ८ बजे उनीमाथि आक्रमण भएको हो । आक्रमणकारीले उनी सवार मोटरसाइकलसमेत लुटेर लगेका छन् । उनले संकलन गरेर ल्याउँदै गरेको नगद रकमसमेत लुटिएको हो वा होइन भन्ने खुलेको छैन ।

घटनास्थलमा गोली चलेको भनिए पनि त्यसको पुष्टि हुन नसकेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताए । घटनामा धारिलो हतियार प्रहार भएको प्रारम्भिक रूपमा देखिएको उनको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर श्याम थापा मगरको कमान्डमा प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान भइरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000