Logo
Logo

अमेरिकाको क्यालिफोर्नियामा ५ म्याग्निच्युडको भूकम्प, लस एन्जलस विमानस्थलमा भागदौड


0
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा शनिबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का लस एन्जलससहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको छ ।

भूकम्पका कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल (एलएएक्स) मा अवतरण गर्न लागेका केही विमानलाई पुनः फर्काइएको छ । विमानस्थलको एउटा टर्मिनलको छतबाट टायल खसेका छन् भने विभिन्न पसलमा सामानहरू झरेर छरिएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान करिब ९ः३० बजे म्यानहट्टन बिचबाट ६ किलोमिटर टाढा समुद्री क्षेत्रमा भूकम्प गएको हो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १२ किलोमिटर गहिराइमा रहेको थियो ।

४५ मिनेटभित्रै धेरै परकम्प

मुख्य भूकम्प गएको ४५ मिनेटभित्रै विभिन्न परकम्प महसुस गरिएको थियो । तीमध्ये सबैभन्दा शक्तिशाली परकम्प ३.७ म्याग्निच्युडको थियो । भूकम्पको धक्का केन्द्रबाट करिब ४३ किलोमिटर टाढा रहेको पासाडेनासम्म महसुस गरिएको थियो ।

भूकम्पपछि लस एन्जलस अग्नि नियन्त्रण विभागले आपत्कालीन प्रतिकार्य प्रणाली सक्रिय पारेको थियो । सहरका सबै १०६ वटा अग्नि नियन्त्रण केन्द्रका कर्मचारीलाई सम्भावित क्षतिको अवस्था बुझ्न परिचालन गरिएको थियो ।

प्रारम्भिक जाँचमा मानवीय क्षति तथा भवनहरूमा ठूलो क्षति पुगेको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्प गएको केही समयपछि लस एन्जलस विमानस्थल नजिकै रहेको शेभ्रोनको एल सेगुन्डो तेल प्रशोधन केन्द्रबाट आगोको लप्का र धुवाँ निस्किएको देखिएको थियो । तर, अधिकारीहरूले उक्त आगलागी भूकम्पका कारण नभएको स्पष्ट पारेका छन् ।

कम्पनीका अनुसार सुरक्षा प्रक्रियाअन्तर्गत अतिरिक्त ग्यासलाई नियन्त्रित रूपमा जलाइएको हो । भूकम्पजस्तो अवस्था उत्पन्न हुँदा प्रशोधन केन्द्रका उपकरण स्वतः बन्द हुने र बाँकी ग्यासलाई सुरक्षित तरिकाले जलाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

उक्त प्रशोधन केन्द्रबाट दक्षिणी क्यालिफोर्नियामा खपत हुने कुल सवारी इन्धनको करिब २० प्रतिशत र हवाई इन्धनको ४० प्रतिशत आपूर्ति हुँदै आएको छ । यसअघि सन् २०२५ को अक्टोबरमा पनि उक्त प्रशोधन केन्द्रमा आगलागी भएको थियो ।

सुनामीको खतरा नरहेको चेतावनी

लस एन्जलसकी मेयर करेन बासले प्रारम्भिक जाँचमा ठूलो क्षतिको विवरण प्राप्त नभएको बताएकी छन् । उनले सम्भावित परकम्पप्रति सतर्क रहन र भूकम्पका बेला सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले पनि भूकम्पका कारण सुनामीको कुनै जोखिम नरहेको स्पष्ट पारेको छ । स्थानीय प्रशासनले भूकम्पबाट भएको सम्भावित क्षतिको विस्तृत विवरण संकलन तथा मूल्याङ्कन गरिरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000